काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएका छन्। बुधबार काठमाडौँको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले शिक्षा ऐनलाई चाँडै पारित गर्ने प्रस्ताव पनि अघि बढाइएको बताए।
उहाँले भने, “आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ। यसमा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने कुरा पनि लेखिएका छन्। तर, यो केवल लेखेर मात्रै हुँदैन; संसदभित्रका प्रक्रिया पनि महत्त्वपूर्ण छन्।”
नयाँ सरकार बनेको दुई महिनापछि साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको बताउँदै थापाले शिक्षाबारे काम गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।