काठमाडौं, भदौ २३ — पूर्वप्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिकारी गतिविधिहरूको सामना गर्न फेरि संघर्षको आवश्यकता रहेको बताएका छन्। आइतबार पेरिसडाँडामा सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’ को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रचण्डले माओवादी आन्दोलन र क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन कसरत भइरहेको उल्लेख गर्दै, क्रान्तिको बलमा स्थापित व्यवस्थालाई उपभोग गर्ने व्यक्तिहरूले नै क्रान्ति र आन्दोलनको अपमान गरिरहेको आरोप लगाए।
‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ । गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरूले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोसिस गर्नेछौँ । त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौँ, अब राजनीतिक त्यतै जाँदैछ । दलाल पूँजीपति र नोकरशाहीहरूसँग संघर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनै पर्छ,’प्रचण्डले भने ।