काठमाडौं – सरकारले सबै मोबाइल र इन्टरनेट सेवा प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनाअनुसार, मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो।
सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए। उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरू बारे छलफल गरेर सबै शर्त मान्न तयार रहेको बताएका थिए।
सिंगापुरस्थित टिकटक कार्यालयका तीन प्रतिनिधिले सरकारद्वारा राखिएका शर्तहरू पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो। करिब साढे नौ महिनापछि, गत ६ भदौमा मन्त्रिपरिषदको बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।