मोरङको बेलबारीमा एक शिक्षकले १४ वर्षीया विद्यार्थीलाई बेहोस हुनेगरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ। बेलबारी नगरपालिका-३ स्थित श्री भगवती माध्यमिक विद्यालयका शिक्षक चित्रबहादुर कोइरालाले कक्षा ९ की शर्मीला तामाङलाई मंगलबार अपराह्न कुटपिट गरेका हुन्।
प्रहरीका अनुसार, शिक्षक कोइरालाले कक्षामा होहल्ला गरेको र नपढेको आरोपमा तामाङलाई ढाडमा हिर्काएर बेहोस बनाएका हुन्। चोटपटकका लागि बेलबारीकै सुविधा मेडिकलमा भर्ना गरिएकी तामाङलाई त्यसपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा थप उपचारको लागि पठाइएको छ।
घटनाको बारेमा जानकारी पाएको प्रहरीले कोइरालालाई मंगलबार साँझ नियन्त्रणमा लिएको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको सइ नेतृत्वको टोलीले घटनाको अनुसन्धान शुरु गरेको छ।