काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक जित्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।
महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आयोजित विशेष कार्यक्रममा, महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मानपत्र प्रदान गरे र उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई पाँच लाखको चेक हस्तान्तरण गरे।
यस अवसरमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, र पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेलकुद क्षेत्रका अन्य पदाधिकारी र खेलाडीहरूको उपस्थिति रहेको थियो।
पलेशाले हालै फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा कास्य पदक जितेकी थिइन्। उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अंकले पराजित गरेकी थिइन्। यो नेपाली खेलाडीले ओलम्पिकमा प्राप्त गरेको पहिलो पदक हो। रासस