विराटनगर। विराटनगरको पारस अस्पतालले १८ महिने बालकको मृगौलाको जटिल समस्याको सफलतापूर्वक उपचार गरी उनलाई नयाँ जीवन दिएको छ। भारतको सिपोल जिल्ला सुर्जापुर निवासी एम डि सोहिल, चार महिनादेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए।
पटनाको एम्स अस्पताल र पूर्णियाको फोटिस् अस्पतालमा गरिएको उपचार असफल भएपछि सोहिलको परिवारले अन्तिम आशाका साथ विराटनगरको पारस अस्पतालमा ल्याएका थिए। पारस अस्पतालले दुई पटकको सफल शल्यक्रिया गरी बालकको पेटमा जमेको पिप निकालेको थियो।
आर्थिक अवस्था कमजोर भएको सोहिलको परिवारलाई पारस अस्पतालले सम्पूर्ण खर्च मिनाहा गरी शुक्रबार डिस्चार्ज गरेको छ। अस्पतालका प्रशासन प्रमुख हेम नारायण मेहताका अनुसार बालकको औषधिमा मात्र खर्च भएको छ। आगामी दिनमा पनि यस बालकको उपचार निःशुल्क गरिने मेहताले प्रतिबद्धता जनाएका छन्।
सोहिलको परिवारलाई आर्थिक सहयोग गर्न विराटनगरको करिम फाउण्डेशनले पनि हात बढाएको छ। पारस अस्पताल र डाक्टरहरूको उत्कृष्ट उपचारको कारण सोहिलको परिवारले उनीहरूको धन्यवाद दिएका छन्।
पारस अस्पतालले बिरामीको राम्रो उपचार गर्नुका साथै गरिब तथा विपन्न वर्गलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ। यसले गर्दा पारस अस्पताल विराटनगरमा एक उदाहरणीय अस्पताल बन्न सफल भएको छ।