बिराटनगर। इलाका प्रहरी कार्यालय रंगेलीले आज १५ सय केजि गाँजा नष्ट गरेको छ। रंगेली ७ स्थित तिरुपति आर्यघाट नजिकैको डस्वसिन साईडमा ठुलाे मात्रामा गाँजा नष्ट गरिएको हो। १५ दिन अघि धनपालथान गाँउपालिका वडा नम्बर ७ स्थित कमलपुर टोल बस्ने ३० वर्षीय राज कुमार सिंहले आफ्नो घरमा लुकाइ राखेको अवस्थामा प्रहरीको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले खोजतलास गर्दा निजको करेसा बारीमा अवैध गाँजा लागू औषध ४९ बोरा १५ सय ४८ केजि बरामद गरेको थियो।
उक्त गाँजा इलाका प्रहरी कार्यालय रंगेलीले शनिबार जिल्ला अदालतका नासु तेजेन्द्र प्रसाद साह, वडा अध्यक्ष रामचन्द्र मण्डल, नगरपालिका पशुपति लाल दास, स्थानीय, बुद्धिजीवी, पत्रकार लगायतको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले बताए।