सुनसरीमा एक वृद्धाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १६ का ९० वर्षीया आशादेवी राना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आफ्नै घरको पूजा कोठामा पूजा गर्ने बेला धूपबत्तीबाट आफैले लगाएको लुगामा अचानक आगो लागेको थियो । आगो लागेपछि गम्भीर घाइते भएकी आशादेवीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।