विश्वभर कोरोना भाइरसले (कोभिड–(१९) महामारीको रुप लिँदै गएपछि आजबाट सुरु हुने एसईई परीक्षा सरकारले स्थगित गरेको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाललाई उच्च जोखिममा रहेको मुलुक घोषणा गरेपछि सरकारले यो निर्णय लिएको हो । कोरोना महामारीका कारण महत्वपूर्ण मानिएको एसईई परीक्षा मात्र स्थगित भएन सम्पूर्ण शैक्षिक संस्थाहरुमा पठनपाठन बन्द गर्ने निर्णय सरकारले गरेको छ । तर नेपालको इतिहासमा यसअघि पनि (एसएलसी) एसईई परीक्षा सारिएको इतिहास पाइन्छ ।
वि.सं.१९९० को दशकमा सुरु भएको एसएलसी परीक्षा (हाल एसईई भनिन्छ) धेरैपटक सारिएको पाइन्छ । कहिले प्रधानमन्त्रीको जन्मदिन पर्दा होस् वा भूकम्प जाँदा, कहिले प्रश्नपत्र बाहिरिँदा एसएलसी सारिएको पाइन्छ । यो पटक भने चीनबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीको परीक्षामा प्रत्यक्ष प्रभाव परेको छ ।
सन् १९९० सालमा सुरु भएको एसएलसी परीक्षा सोही वर्ष गएको महाभूकम्पका कारण सुरुमै स्थगित भएको थियो । माघ महिनामा सञ्चालन भैरहेको परीक्षा एक्कासि भूकम्प गएपछि १९९१ साल वैशाखमा सञ्चालन गरिएको थियो । त्यसपछि २००३ साल पौष १७ गते विराटनगरका विद्यार्थी बीरगन्ज सेन्टरमा पुगेपछि परीक्षा स्थागित गरिएको लेखक प्रकृति अधिकारीद्धारा लिखित पुस्तकमा उल्लेख छ । उक्त परीक्षा पुस २४ गते सञ्चालन गरिएको थियो ।
त्यस्तै, वि.सं.२००५ सालमा प्रधानमन्त्री मोहनशमशेर राणाको जन्मदिनमा एसएलसी परीक्षा सारिएको थियो । त्यसबेला प्रधानमन्त्रीको जन्मदिन भव्यताका साथ मनाउने चलन थियो । सोही परम्पराका कारण पहिलोपटक २००५ सालमा एसएलसी परीक्षा स्थगित भएको थियो । त्यसबेला भोलिपल्ट परीक्षा सञ्चालन गरिएको लेखक अधिकारीद्धारा लेखिएको ‘एसएलसीको इतिहास पुस्तक’ मा उल्लेख गरिएको छ ।
त्यस्तै वि.सं. २००८ सालमा पनि एसएलसी परिक्षा सरेको थियो । त्यसबेला प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा स्थगित भएको थियो । त्यसबेला परीक्षा नियन्त्रण कार्यालयमा आक्रोसित भीडले आगजनी समेत गरेको थियो ।