बिश्व हिन्दु परिषद नेपालद्धारा बिराटनगरमा हनुमान जयन्ती मनाईयो
बिराटनगर । बिश्व हिन्दु परिषद नेपाल मोरगं बिराटनगरले हनुमान जयन्तीको अवसरमा बिहीवार मोरगंको बिराटनगरमा भव्य मोटरसाईकल रैली तथा वृहत शोभा यात्रा निकालेका छन् ।
बिश्व हिन्दु परिषद मोरगं बिराटनगरले बिभिन्न उत्सवमा रैली तथा शोभा यात्रा निकाल्दै आएको हो। जय श्री रामको नारासहित निकालिएको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरिएको थियो । गाउँगाउँबाट हिन्दुवादी संगठनका प्रतिनिधि तथा युवाहरु सहभागि थिए ।
चैत्र शुक्ल पूर्णिमा, रामदूत हनुमानको जन्मजयन्तीका रूपमा आएको छ । हनुमानको जन्मजयन्ती सनातन धर्मका अनुयायीले मनाउँछन् । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र संकटबाट मुक्ति पाइने विश्वास छ ।
पौराणिक कथामा उल्लेख भएअनुसार अन्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन्। जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन्।
हनुमानलाई पवन पुत्र पनि भनिन्छ । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए। त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् ।