नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा कांग्रेसबाहेकका सबै दललाई सहमतिमा ल्याउन प्रयास गर्ने निर्णय गरेको छ । उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पुस १० गतेको सहमति कायमै रहेको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिवार बसेको सचिवालय बैठकपछि उमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस १० गतेको सहमतिअनुसार नै आफूहरूले उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन् । फागुन २५ सम्म पुस १० कै सहमतिअनुसार अगाडि बढ्ने भनेर एमालेले त्यतिबेलासम्म सरकार नछाड्ने स्पष्ट संकेत गरेको हो ।
‘पुरानो गठबन्धन टुटेको कुरा आएको छैन । पुस १० गतेको निर्णयको आधारमा उम्मेदवारी दिने निर्णय गरेका छौं । कांग्रेस बाहेकलाई सहमतिमा ल्याउने प्रयास गर्छाैं,’ गुरुङले भने, ‘फागुन २५ गतेसम्म धेरै कुरा पाक्न सक्छ ।’
माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पनि एमालेले सरकारबारे पर्ख र हेरको नीति बनाएको छ । ‘सरकारमा बस्ने या छाड्ने आजको निर्णय होइन, आज राष्ट्रपतिको उम्मेदवार छान्न बैठक बसिएको हो,’ गुरुङले भने ।