बिराटनगर। नेपाली काँग्रेस मोरंगले पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि बुद्धिजीविसंग छलफल गरेको छ ।विराटनगरमा शुक्रबार भएको छलफलमा मोरंगका सभापति तथा प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूले अल्पमतमा रहेर जनताको मन जित्नेगरि काम गर्नुपर्नेमा जोड दिए। सभापति लिम्बूले आर्थिक क्षेत्रलाई सबल बनाउन बुद्धिजीविहरुसंग सुझाव मागेका थिए ।
जसमा अधिकाँशले मुलुकको शिक्षा क्षेत्रलाई सही ब्यस्थापन, कृषि क्षेत्रमा आधुनिकिकरण, औद्यागिक क्षेत्रको चलायमान, स्वास्थ्य क्षेत्रमा सुधार लगायतका विषयमा आ -आफ्नो भनाई राखेका थिए । छलफलका क्रममा महेन्द्र मोरंग क्याम्पसका प्राध्यापक बाबुराम तिम्सिनाले पछिल्लोसमय शिक्षा सेवा आयोगमा ब्यापक सुधार भएको बताए। उनले विश्वविद्यालय, क्याम्पस, विद्यालयको शैक्षिकस्तरमा सुधार हुनुपर्नेमा जोड दिए ।हाल महिला बालिकामा समेत चेतनाको कमी रहेको बताएका प्राध्यापक तिम्सिनाले प्रविधितर्फ अघि बढिरहदाँ यसको सही ब्यवस्थापन गर्न सक्नुपर्ने बताए ।
डिएलए मोरंगका पूर्व सचिव दुर्गाप्रसाद पोखरेलले पार्टीभित्र देखिएको विभिन्न धारणाले नकारात्मक संदेश छरिरहेको बताए । उनले पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि एकतासहित एकै धारणा आउनुपर्ने बताए । उनले कृषकलाई समस्या हुने र मर्का पर्ने विषयले स्थान नपाउनु दुखद भएको बताए । कृषकले उत्पादित बस्तुको मुल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था आइरहदाँ सदनमा कसैले आवाज नउठाउनु आफैमा बिडम्वना भएको पोखरेलले बताए । कांग्रेस राष्ट्रपतिको विषयमा दाँउपर्ने गरि अघि बढिरहेको भन्ने विषयमा पोखरेलले राष्ट्रपतिमा भोली हार हुने गरि काँग्रेस अघि बढ्नुले कार्यकर्ताको मनोबल पुन: गिराउनु सरह हुने बताए ।
छलफलमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आर्थिक क्षेत्र केही सिमीत घरानाका कारण संकटमा परेको बताए । उनका अनुसार ६३ जना ब्यापारीले मुलुकको ८० प्रतिशतबढि रकम चलाएको विषयले सदनमा आउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रलाई सबल बनाउनका लागि सदनमा कुरा राख्न सुझाव दिदैं मेयर कोइरालाले रसायनिक मलसंगै अर्गानिक मलखादलाई जोड दिन आग्रह गरे । मुलुकमा मल उत्पादन क्षेत्रको कमी रहेको बताएका मेयर कोइरालाले भोलीका दिनमा अर्गानिक मलको विकल्प नभएको उल्लेख गरे । यूरिया मल समयमा उपलब्ध हुननसक्दा बर्षेनी कृषक मर्कामा पर्ने गरेको उनको भनाई छ ।
छलफलमा बुद्धिजिवीहरुबाट प्राप्त सल्लाह सुझावलाई लिपिबद्ध गर्दै सदनमा उठान गर्ने सभापति लिम्बूले प्रतिबद्धता ब्यक्त गरेका थिए ।
छलफलमा कांग्रेससंग आवद्ध प्रजातान्त्रिक प्राध्यापक संघ, प्रजातान्त्रिक ईन्जिनियर एसोसिएसन ,डिएलए, ने टेड्र युनियन, नेपाल शिक्षक संघ, बित्तीय कर्मचारी संघ लगायतका संस्थाका पदाधिकारीको उपस्थिति रहेको मोरंगका सचिव मोदराज घिमिरेले जानकारी दिए ।