कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सीयाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो ।चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ । खोपले मानव शरीरमा केही असर गर्छ वा गर्दैन भन्नेबारे अध्ययन गर्न परीक्षण गर्न लागिएको हो । तर उक्त खोपले उनीहरुलाई कोरोना संक्रमण भने नहुने बताइएको छ ।खोपको सोमबार परीक्षण गरिने भएपनि विज्ञहरुका अनुसार पुरै परीक्षण गरेर खोप तयार गर्न १ वर्ष भन्दा बढी समय लाग्न सक्छ । अमेरिकास्थित ‘द नेशनल इन्स्टिट्युट अफ हेल्थ’ले यस खोप परीक्षणका लागि खर्त उपलब्ध गराउने बताइएको छ ।