सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको सितागंज स्वास्थ्य चौकीमा निशुल्क फिजियोथेरापी सेवा आज उद्घाटन कार्यक्रमको आयोजना गरी सञ्चालनमा आएको छ । फिजियोथेरापी केन्द्र गाउँपालिका अध्यक्ष जीवछ रायले उद्घाटन गरेको हो ।
प्रदेस नम्बर १ को सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षिय सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत, अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय स्तरबाटै निशुल्क फिजियोथेरापी सेवा केन्द्र सञ्चालनमा ल्याएको र स्वास्थ्य सामग्री समेत हसतान्तरण गरेको करुणा फाउण्डेसन नेपालको राजीव चौधरीले बताउनुभयो ।
चौधरीको अनुसार जन्मिने बितिकै अकालमा निसासिएर बच्चाको मृत्यु नहोस् भनेर बर्थिंङ् सेन्टर बाट गुणस्तरीय सेवा दिन को लागि सितागंज स्वास्थ चौकीलाई एक थान अक्सिजन कन्सेनटेटर , अपाङ्गता भएका सेवाग्राहीहरुको सहजताका लागि फिजियोथेरापी केन्द्रको लागि एक थान व्हिल चेयर करुणा फाउण्डेसन नेपालको तर्फ बाट हस्तान्तर गरेको जानकारी दिनुभयो ।
गाउँपालिकामा निशुल्क फिजियोथेरापी सेवा उपलब्ध हुदा दैनिक क्रियाकलापमा सहज हुने गाउँपालिका अध्यक्ष जीवछ रायले बताउनुभयो । यहाँका स्थानियहरुले बहिर जान नपरोस् भन्ने उदेश्यले निशुल्क फिजियोथेरापी सेवा सुरु भएको अध्यक्ष रायले बताउनुभयो । उहाँले भन्नुभयो गुणस्तर सेवा र नियमित सेवा दिनलाई कर्मचारीहरुलाई निर्देशित गर्दै र फिजियोथेरापी सेवाको अधिकतम लाभ लिन सेवाग्राहीहरुलाई आग्रह गर्दछु ।
कार्यक्रममा जिवक्ष् कुमार राय, वडा नं. २ का वडा अध्यक्ष महेन्द्र प्रसाद कामत, स्वास्थ्य संयोजक रामबाबु श्रेष्ठ, करुणा फाउण्डेसन नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत मिनल अधिकारी, फिजियोथेरापिस्ट स्नेहा खड्का लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।