सरकारले कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकका नागरिकलाई कडाइ गर्न थालेको छ ।चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन कडाइ गरिएको हो । ती देशका नागरिकलाई अनअराइभल भिसा स्थगित गरिएको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।मन्त्रालयका अनुसार कोभिड–१९ रोगको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको छ ।उच्च जोखिम भएका मुलुकहरुबाट आउने सबै यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको स्क्रिनिङ्ग र स्वघोषणा फारम भर्ने अभियानलाई अनिवार्य लागू गरिएको पनि मन्त्रालयले जनाएको छ ।