फास्टिङको लहर व्यापक छ, शहरमा । कसैलाई मोटोपन घटाउनुछ, कसैलाई दीर्घरोगबाट छुटकारा पाउनुछ, कसैलाई चुस्त पाचनयन्त्र पाउनुछ । अतः यी सबैका लागि धेरैले अपनाउने एउटा विधी छ, फास्टिङ ।
पछिल्लो समय १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्ने प्रवृत्ति मौलाएको छ । यसले तत्काल केही राम्रै नतिजा दिएपनि दीर्घकालिन रुपमा भने खराब असर गर्ने चिकित्सकहरु बताउने गर्छन् । यसै सन्दर्भमा ग्याष्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यापसँग कुराकानी गरिएको छ ।
अहिले १६ घण्टा फास्टिङ गर्ने प्रवृत्ति व्यापक छ । यसले कुनै असर त गर्दैन ?
१६ घण्टा गरिने इन्टरमिटेन्ट फास्टिङले धेरै फाइदा गरेको छ । तर, यससँगै लामो समयसम्म फास्टिङ गर्दा पेटमा भैरहेको एसिडलाई असर गर्न सक्छ । समयमा खाना नपुगेपछि एसिड खाना नली वा सानो आन्द्रामा जान्छ, जसले पाचन प्रकियामा असर पुर्याउन थाल्छ । यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता समस्या देखापर्न सक्छ ।
यस किसिमको फास्टिङले फाईदा वा बेफाईदा बढी गर्छ ?
मधुमेह, तौल घटाउन र उच्च रक्तचाप नियन्त्रणमा यसको फाइदा दिएको देखिन्छ । तर, ग्याष्ट्रिकका बिरामीहरुलाई यसले फाइदाभन्दा बढी हानी गर्छ ।
कसैलाई अल्सर, पेटको आन्द्राबाट रक्तश्राव भइरहेको छ भने पनि त्यति लाभ दिदैन । कसैलाई ग्याष्ट्रिक भएको नै थाहा नहुन सक्छ, जसले यस्तो फास्टिङ बस्दा थप स्वास्थ्य समस्या आउन सक्छ । ग्याष्ट्रिक नभएका व्यक्तिलाई ग्याष्ट्रिक गराउन सक्छ भने भएको व्यक्तिलाई झनै बढी जटिलता थप्न सक्ने देखिन्छ । सकेसम्म यस्तो गर्नु अघि आफ्नो स्वास्थ्य परीक्षण गराएर चिकित्सकको सल्लाहमा सहि तरिकाले फास्टिङ गर्नु राम्रो हुन्छ ।
कस्तो अवस्थामा फास्टिङ हानिकारक हुनसक्छ ? वा पेट सम्बन्धि के कस्ता समस्याभएकाले फास्टिङ गर्नै हुँदैन ?
सकेसम्म ग्याष्ट्रिक भएको व्यक्तिले १६ घण्टा फास्टिङ र व्रत नबसेको राम्रो हो । अल्सर भएको व्यक्ति, क्यान्सर भएको र ग्याष्ट्रिक भएका व्यक्तिलाई हानिकारक हुन्छ ।
कतिपयले किटो डाइट लिदाँपनि ग्याष्ट्रिकको समस्या हुँदोरहेछ भनिरहेका छन् । के किटो डाइट लिनेहरुमा ग्यास्ट्रिकको समस्या हुनसक्छ ?
तौल घटाउनको लागि लिइने किटो डाइटले पनि ग्याष्ट्रिकको समस्या हुन्छ । यसमा बढी प्रोटिनलाई मात्र प्राथमिकता दिने भएकोले समस्या उत्पन्न हुन सक्छ । त्यस्तै कतिपयलाई कब्जियत र पेट फुल्ने जस्ता आन्द्रा सम्बन्धी समस्या हुन सक्छ ।
पहिला ग्याष्ट्रिक के कारणले भएको हो भन्ने बुझ्न पर्छ । केहि रोगले भएको हो वा खानपानले भएको हो भनेर जान्न जरुरी हुन्छ । सामान्य समस्याका कारण ग्याष्ट्रिक भएको छ भने त्यसको उपचार पछि किटो डाइट लिन सकिन्छ । तर अल्सर नै भैसकेको छ, लामो समयसम्म ग्याष्ट्रिकको समस्या छ भने सकेसम्म खान हुँदैन । किटो डाइट खानु अघि पनि चिकित्सकको सुझाव लिन जरुरी छ ।
ग्यास्ट्रिकको कारण के कस्ता जटिलता निम्तन सक्छ ?
ग्याष्ट्रिक बढ्दै गए पछि अल्सर हुने सम्भावना बढी हुन्छ । सानो आन्द्रामा अल्सर भएको छ भने ९८ प्रतिशत आफै ठिक भएर जान्छ । त्यही अल्सर आमाशयमा छ भने क्यान्सर पनि हुनसक्छ । त्यो अवस्थामा इन्डोस्कोपी गरेर हेर्न सक्छ । अल्सरबाट रगत बग्ने हुन्छ । समयमा अल्सरको पहिचान गरी उपचार गरिएन भने सानो आन्द्रा आमाशयमा फुट्न सक्छ । त्यो नै यसको मुख्य जटिलता हो ।
ग्याष्ट्रिककै कारण घाँटीमा पनि समस्या हुने रहेछ नि ?
ग्याष्ट्रिककै कारण घाँटीमा पनि समस्या हुने भनेको ग्याष्ट्रोएसोफाजयल रिफ्लक्स डिसिजको कारणले हुन्छ । यो तब हुन्छ जब पेटमा एसिड बारम्बार तपाईंको मुख र पेट जोड्ने ट्यूबमा फर्कन्छ । यो एसिड रिफ्लक्सले तपाईंको अन्ननलीमा पोल्ने हुनसक्छ ।
रिफ्लक्स डिजिज मोटोपना, चुरोट मद्यपान गर्ने व्यक्तिलाई बढी हुन्छ । घांटीमा रिफ्लक्स एसिड जान्छ । जसले सुख्खा खोकी लाग्ने, घांटी पोल्ने हुन्छ । यो एउटा पाचनको समस्या हो । तर, यो समस्या देखिएपछि घांटीको समस्या भनेर छातिको डाक्टरकोमा गएको हुन्छन् जहाँ उपचार पत्ता लाग्दैन । यसको समस्या इन्डोस्कोपी गरेपछि मात्र थाहा हुन्छ ।
ग्याष्ट्रिक भएकाले के कस्ताखानपान गर्नु जरुरी हुन्छ ?
४ पटक खानु पर्छ । सागसब्जी, उच्च रेसादार खानेकुराहरु खानु पर्छ । मसालेदार र चिल्लो खानेकुरा कम खानुपर्छ । घरको खानेकुरालाई प्राथमिकता दिने गर्नुपर्छ ।
ग्याष्ट्रिकको औषधि उपचार नगराई खान मिल्छ ?
डाक्टरकहाँ आउँनुभन्दा अघि नै सबैले औषधि खाइसकेका हुन्छन् । कहिलेकाहीँ आँदा खासै फरक पर्दैन । तर सकेसम्म चिकित्सकलाई देखाएर मात्र औषधि खानु उपयुक्त हुन्छ । ४ दिनसम्म पनि ग्यास्ट्रिकको औषधि नाखाँदा पनि ठिक नभएका बिरामीको इन्डोस्कोपी गरेर पछि मात्र औषधि खान सल्लाह दिन्छौं । ग्यास्ट्रिक हुँदा प्राय नाइटोभन्दा माथि दुख्ने गर्छ, हृदयघात हुँदा पनि त्यहि दुख्ने गर्छ । दुख्ने समस्या बढ्दै गयो भने इसिजी गराउन पर्ने हुन्छ । मुटुको डाक्टरलाई पनि देखाउन पर्छ ।
ग्याष्ट्रिक हुनै नदिन के गर्ने ?
दैनिक व्ययाम गर्ने, तनाव कम लिने, दिनको ४ पटक सन्तुलित भोजन गर्ने, प्रशस्त सफा पानी पिउने , स्वस्थ खानेकुरा खाने, सकेसम्म पेनकिल्लर औषधी खाने बानी छ भने रोक्न पर्छ । खाने पर्ने अवस्था आए कम खाने, धुम्रपान र मद्यपान नगर्ने ।
(डा. कश्यपले भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी र एम्सबाट ग्याष्ट्रोइन्ट्रोलोजीबाट फेलोशिप र न्याम्सबाट डीएम गरेका छन्।)