काठमाडौँ — काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को चौथो दिन सोमबार ‘खुवालुङ’ र ‘इम्ब्रिओनिक’ प्रस्तुति हुँदै छन् ।
केही महिनाअघि मण्डलामा मञ्चन भएको नेपाली नाटक ‘खुवालुङ’ लाई दर्शकले निकै रुचाएका थिए । महोत्सवका सञ्चार संयोजक रंगकर्मी केदार श्रेष्ठका अनुसार यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुने समय तालिका रहेको छ । उनका अनुसार साँझ ६ बजे भने नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । त्यस्तै दिउँसो २ बजे मण्डला स्टुडियोमा ‘कला तथा रंगमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला हुनेछ भने साँझ ७:३० बजे ‘काठमाडौंबाहिर नेपाली रंगमञ्चको चुनौती विषयमा प्यानल डिस्कसन हुनेछ ।
महोत्सवको तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री: वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन गरिएको थियो ।
नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडद्वारा लिखित ‘थ्री कन्ट्री: वन मोदर’ अंग्रेजी भाषाको नाटकलाई क्याटी बेकले निर्देशन गरेका हुन् । सन् १९९० देखि २००० को बचमा आºनो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत गरिएको छ ।
कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरु आºना छोराछोरीका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।
आइतबार साँझ नै नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत गरिएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीले समेत प्रस्तुति दिएका थिए ।
मंसिर १७ सम्म जारी हुने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।