कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
शिक्षिका कर्माचार्यले कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई कम नम्बर ल्याएको भन्दै ब्लेडले हात चिर्न लगाएकी थिइन् । शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जना विद्यार्थी कक्षाकोठामै ब्लेडले आफ्नै हात चिर्न बाध्य भएका थिए । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै समयमा धम्की दिएको विद्यार्थीहरुको भनाइ छ ।
नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थी आफैंले हात चिर्नुपर्ने भन्दै सजाय दिएकी हुन् । विद्यार्थीले सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिरेका थिए ।
प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर शनिबार विद्यालयका प्रधानाध्यापकका साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ । छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् । घटना बाहिर आएपछि विद्यालयले पनि शिक्षिका कर्मचार्यलाई अवकास दिइसकेको छ ।