विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला शनिबार मोरङ क्षेत्र नम्बर–२ स्थित हसन्दह बजारमा चुनावी सभालाई सम्बोधन गर्ने तरखरमा थिइन् । कांग्रेसका वडा सभापति, क्षेत्रीय सभापतिलगायत व्यक्तिले स्थानीय समस्या सुनाए । सुजाताको बोल्ने पालो आयो ।
सम्बोधनको सुरुवातमै उनले दिवंगत पिता गिरिजाप्रसाद कोइरालाको स्मरण गरिन् । विगतमा सुरु गरिएको विकास योजना र सम्पन्न भएका कामबारे बताइन् ।
“म बुवाकै सपना साकार पार्न धेरै लामो समयपछि तपाईंहरूमाझ आएको छु । मेरो पिताजीकै क्षेत्र भएकोले अहिले उहाँकै प्रतिनिधि भएर आएको हो । अब तपाईंहरूबाट टाढा जान्नँ । यतै बसेर यो क्षेत्रको विकासमा भरमग्दुर काम गर्छु,” उनले भनिन् ।
‘दक्षिणी क्षेत्रका किसानको पिर’ मानिने बक्राहा खोलामाथि पुल, तटबन्धलगायत योजना र काम गिरिजाप्रसादकै नेतृत्वमा सम्पन्न भएका थिए । “बाँकी अधुरा कामको नेतृत्व लिनु नै अबको मेरो योजना हो,” सुजाताले सुनाइन् ।
उमेदवार बनेपछि सुजाताले गिरिजाप्रसादको प्रतिनिधिका रूपमा ठाउँ–ठाउँमा स्वागत पाइरहेकी छन् । उनलाई स्वागत गर्नेमध्येकै एक हुन्, मोहनप्रसाद दंगाल । उनी ह्वीलचेयरमा बसेर सुजाताको सभामा सहभागी हुन आएका थिए । जितका लागि शुभकामना दिए ।
त्यसपछि विगत कोट्ट्याउँदै भने, “म राजदरबारमा कार्यरत छँदै काठमाडौंमा दुर्घटनामा परेँ । गिरिजाप्रसाद कोइरालाले नै उपचार गर्न भारतको भेलोर पठाउनुभयो । १८ महिना उपचार गरी फर्किएँ । त्यहाँ लागेको उपचारमा चानचुन २० लाख खर्च भयो । सबै व्यवस्थापन तपाईंकै पिताजीले गरिदिनुभयो ।”
दंगालका अनुसार उनी उपचारपछि इटहरा फर्किए । यो क्षेत्रमा नेकपा (एमाले)को बोलवाला थियो । एकपटक एमाले कार्यकर्ताको टोलीले भौडाहा भन्ने ठाउँको काठको पुल भत्काइदिए । स्थानीयलाई आउजाउमा समस्या भयो ।
“भौडाहाको काठेपुल थियो, उनीहरूले भत्काए । किन भत्काएको भन्दै मैले प्रतिवाद गरेँ । उनीहरूले तिम्रा गिरिजाप्रसादको झारमौरो उखेलिदिने भन्दै हिँडे,” उनले सुनाए, “मैले पुल सबैको हो भन्ने बुझाउन खोजेँ । प्रजातन्त्र आएपछि पहिलो चुनावको बेला थियो त्यो ।”
एमालेका कार्यकर्तासँग प्रतिवाद गर्ने व्यक्तिको साहस सुनेका गिरिजाप्रसादले घरमै गएर उनलाई कांग्रेसको क्रियाशील सदस्य बनाएका थिए ।
उनले अहिले चढ्ने ह्वीलचेयर कांग्रेस नेता आमोदप्रसाद उपाध्यायले किनिदिएका थिए । “मेरो जीवनमा नेपाली कांग्रेस र यो पार्टीका नेताहरूले धेरै गुन लगाउनुभएको छ, यसको बयान गरी साध्य छैन,” उनले भने, “अहिले छोरी सुजाता उहाँकै स्वरूपमा आउनुभएको छ । हामी उहाँलाई जिताउन सक्रिय भएर लागेका छौँ ।”
शारदा डाँगीको पूरै परिवार कांग्रेसलाई समर्थन गर्छ । यो परिवारलाई पनि गिरिजाप्रसादले गुन लगाएका छन् । डाँगी भन्छिन्, “गिरिजाप्रसाद कोइराला नभए पनि छोरी उहाँकै प्रतिनिधि भएर आउँदा हामीलाई हर्ष लागेको छ ।”
प्रतिनिधिसभातर्फ यो क्षेत्रबाट ०७४ सालमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल विजयी भएका थिए । विगतमा जस्तै अहिले पनि एमालेका ऋषिकेश पोखरेल चुनावी मैदानमा छन् ।
अहिले नयाँ बनेर समेटिएको क्षेत्रबाट विगतमा गिरिजाप्रसाद र भरतमोहन अधिकारी दुईपटक विजयी भएका थिए । कांग्रेसका आमोद उपाध्यायले ०६४ र एमालेका ऋषिकेशले ०७० मा जिते ।
स्थानीयका अनुसार यो क्षेत्रमा नदी कटानको ठूलो समस्या छ । बक्राहा खोलाले धार परिवर्तन गरेर दुःख दिइरहन्छ । ०७४ मा बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो । अहिले पनि जोखिम उत्तिकै छ ।
सुजाता भन्छिन्, “खासमा यो क्षेत्र कांग्रेसकै नेताहरूले बनाएको हो । अब अझै धेरै काम गर्नुछ । मैले यहाँको परिवेश, रहनसहन, मानिसको चाहना सबै बुझेकी छु । त्यही भएर राजेर आएकी हुँ ।”