मोरङमा रहेका सत्ता गठबन्धनका ४ दलको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि वडास्तरसम्म संयुक्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । समिति आगामी २८ गतेभित्र बनाइसक्ने र निर्वाचन परिचालन समिति बनाउँदा प्रतिनिधिसभाको उम्मेदवार रहने दलको प्रतिनिधि उक्त क्षेत्रको संयोजक रहने गठबन्धन दलले निर्णय गरेका हुन् ।
यस्तै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सचिवालय मोरङ नेपाली कांग्रेस कार्यवाहक सभापति नागेश कोइरालाको संयोजकत्वमा १७ सदस्य समिति रहने पनि निर्णय भएको छ । यस्तै बैठकले २३ गते मनोनयनको क्रममा गठबन्धनको भावना र मर्म विपरित स्वतन्त्र उम्मेदवारहरुको मनोनयन भएको भन्दै मनोनयन फिर्ता लिन पनि आग्रह गरेको छ ।
‘संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको भावना र मर्म विपरीत स्वतन्त्र उम्मेदवारहरुको मनोनयन भएको जानकारी आएको हुँदा उम्मेदवारको नामावली फिर्ता गर्ने निर्धारित समय सीमा भित्र स्वतन्त्र उम्मेदवारहरुको नाम फिर्ता गराउन हदैसम्म पहल गर्ने,’ निर्णयमा भनिएको छ, ‘यदि स्वतन्त्र उम्मेदवारहरुले नामावली फिर्ता गर्न नमाने पार्टीको साधारण सदस्यबाट निलम्बन गरी सम्बन्धित पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्ने तथा सञ्चार माध्यामबाट सार्वजनिक गर्ने निर्णय गरियो ।’
बैठकले गठबन्धनको सम्पर्क कार्यालय कांग्रेसको विराटनगरस्थित मोरङ पार्टीको कार्यालयमै रहने पनि निर्णय गरेको छ । बैठक कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूको सभापतित्वमा बसेको थियो । कांग्रेसका कार्यबहाक मोरङ सभापति नागेश कोइराला, माओवादी केन्द्र मोरङका इन्चार्ज गोपी अछामी, नेकपा एकीकृत समाजवादीका मोरङ अध्यक्ष चन्द्रवीर राई र लोकतान्त्रिक समाजवादी पार्टी मोरङका इन्चार्ज अमरेन्द्र कुमार साहले निर्णयमा हस्ताक्षर गरेका छन् ।