जेट एयरवेजका संस्थापक नरेश गोयलविरुद्ध प्रवर्तन निर्देशालय (इडी) ले सम्पत्ति शुद्धिकरणको नया मुद्दा दर्ता गर्यो । केन्द्रीय अनुसन्धान एजेन्सीले बुधबार उनलाई हिरासतमा लिएर सोधपुछ गरेको छ । त्यसपछि एजेन्सीको समूह गोयललाई लिएर उनको मुम्बईस्थित घर पुग्यो र घरभित्र छापामारी गर्यो । इडीले जेटको १२ वर्षको आर्थिक कारोबारको अनुसन्धान गरिरहेको छ । फेमा केसमा गोयल, उनकी श्रीमती र छोरासँग पनि सोधपुछ गरिसकेको छ ।
गत वर्ष अगस्टमा पनि अनुसन्धान एजेन्सीले गोयलको निवासमा छापा मारेको थियो । यतिबेला उनको १९ कम्पनीसँग जोडिएका संदिग्ध लेनदेनको जानकारी पाइएको थियो । यीमध्ये १४ कम्पनी भारतमा र ५ विदेशमा छन् । त्यतिबेला ईडीले यी कम्पनीमा फन्ड ट्रान्सफर गरेको विभिन्न डिजिटल प्रमाण र महत्वपूर्ण दस्तावेज जुटाएका थिए । ईडीका अनुसार विदेशमा भएका कम्पनीमाथि गोयलको अप्रत्यक्ष रुपमा नियन्त्रणको कुरा सार्वजनिक भएको छ । गोयलले बन्द भइसकेको आफ्नो एयरलाइनमार्फत् लेनदेनमा गडबडी गरेको आरोप छ ।
आर्थिक संकटका कारण गत वर्ष जेटको उडान रोकियोः
नरेश गोयलले पछिल्लो वर्ष मार्चमा जेट एयरवेजको अध्यक्ष पदबाट राजिनामा दिएका थिए । त्यसपछि अप्रिल १४ मा एयरलाइनले आर्थिक संकटका कारण कामकारवाही बन्द गरेको थियो । जेटको उडान बन्द हुँदा यसमा काम गर्ने हज्जारौं कर्मचारी बेरोजगार भएका थिए ।