अभिनेत्री रेखा थापाले अभिनय र निर्माण गर्ने नयाँ चलचित्रको गीतमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालले आफ्नो स्वर रेकर्ड गराएकी छन् । यसै साता राजधानीका एक रेकर्डिङ स्टूडियोमा उनले फिल्मको गीत गाएकी हुन् । बाह्र वर्षको उमेरदेखि नै गीत गाउन थालेकी उनले गाएका ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन्’ गीत हिट छन् । स्मिताले गाएको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ भने एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।
‘मायालु तिमी कता छौं’ गीत सुनेपछि रेखा र बसन्तले स्मितालाई चलचित्रको गीत गाउन दिएका हुन् । गीतमा नेपाल आइडल फेम्ड प्रताप दासले पनि आफ्नो स्वर रेकर्ड गराइसकेका छन् । प्रताप र स्मिताको स्वरले गीतलाई जीवन भरेको संगीतकार सापकोटा बताउँछन् ।संगीतकार सापकोटा रेखा फिल्मस्को यो गीतलाई लिएर निकै उत्साहित छन् । ‘जसरी मैले संगीत भरेका ‘सिम्पल सिम्पल कान्छी’ र ‘स्लोली स्लोली’ गीत दर्शकमाझ सुपरहिट भएका थिए । रेखा जीको नयाँ चलचित्रको यो गीत पनि सुपरहिट हुन्छ भन्ने विश्वास लिएको छु’, संगीतकार सापकोटा भन्छन् ।
अभिनेत्री रेखा थापा पनि चलचित्रको यो गीतलाई लिएर निकै आशावादी छिन् । नाम घोषणा नगरिएको चलचित्रलाई निर्देशन गर्ने जिम्मेवारी सविर श्रेष्ठको काँधमा छ । यसअघि उनले रेखालाई लिएर ‘तथास्तु’ र ‘कसले चोर्यो मेरो मन’ चलचित्रको निर्देशन गरेका थिए । रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा रेखाका अलावा सौगात मल्ल र दयाहाङ राईको पनि मुख्य भूमिका रहनेछ । बैशाखबाट छायांकन सुरु हुने चलचित्र तिहारमा रिलिज हुनेछ ।