हिपमत डटकम

सोमबार, कार्तिक ०८, २०७८ || 578  पटक पढिएको
भरत गुरागाईँ बर्बरीक

–तपाईं चर्को घाममा निक्कै धाप्पिएर आउनु भए जस्तो छ, आउनुस् आसनग्रहण गरौँ ।
–तपाईँले निक्कै राम्रा कपडा लगाउनुभएको छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईं यो ठाउँको परम्परागत ठूलो मान्छे हुनुहुन्छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईँलाई खुशी पार्दा मेरो पनि फलिफाप हुन्छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईं सत्तासीन पार्टीको हर्ताकर्ता हुनुहुन्छ, आउनुस् आसनग्रण गरौँ ।
–तपाईँलाई आसनग्रहण नगराउँदा रिसाउनुहुन्छ, गालीगलौज गर्नुहुन्छ, भाँडभैलो गर्नुहुन्छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईँलाई खुशी पार्दा म र मेरो संस्थाले राम्रो बजेट पाउँछ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईं आफूलाई सबैभन्दा अब्बल ठान्नुहुन्छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईँले यो कार्यक्रममा आसनग्रहण गर्दा म त्यो कार्यक्रममा आसन ग्रहण गर्न पाउँछु, आउनुस् आसनग्रहण गरौँ ।
–तपाईँसँग पैसा छ, भरे यसो रक्सी मासु खुवाउनुहुन्छ, आउनुस् आसनग्रहण गरौँ ।
–तपाईँले कार्यक्रम जस्तो भए पनि “भव्य” सावित गरिदिनुहुन्छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईं मेरो प्रसंशक हुनुहुन्छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईँले मलाई अघि नै फोनबाट अनुरोध गर्नुभएको छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईँ ऊभन्दा के कम हुनुहुन्छ, आउनुस् आसनग्रहण गरौँ ।
– तपाईं फरक जात, लिङ्ग, भूगोल, सम्प्रदाय र अवस्थाको हुनुहुन्छ, आउनुस् आसनग्रहण गरौँ ।

जब तपाईं कुनै कार्यक्रममा जानुहुन्छ, विचार गर्नुभएको छ कि छैन, त्यहाँ आसनग्रहणको बेग्लै तमाशा हुन्छ । कुनै कार्यक्रममा आयोजकले निक्कै सम्यक विवेक प्रयोग गर्छ र कार्यक्रमलाई कुरुप हुनबाट जोगाउँछ । कुनै कार्यक्रम यस्ता हुन्छन् जो फगत आसनग्रहणका लागि आयोजन गरिएका जस्ता लाग्छन् । कार्यक्रममा प्रस्तुत गरिने मूल कुरो कता छ कता आसनग्रहण गर्ने गराउने, मालाखादा ओढाउने, ब्याच लगाउने सिलसिला घन्टौँसम्म चलिरहन्छ । धर्मभिरुहरुले तेत्तीस करोड देवतालाई धूपधुँवार गरे जस्तै प्रतीत हुन्छ ।
कार्यक्रम आयोजकलाई कार्यक्रम कसरी सफल पारौँ भन्ने पिर हुन्छ, आसनग्रहणका पारखीहरुलाई कसरी मन्चसम्म पुगौँ भन्ने ध्याउन्ना हुन्छ । अनेक मान्छे र प्रबृत्तिका स्वार्थहरु समायोजित हुँदै जान्छन् र टकराउँदै पनि जान्छन् । उता सधैँ थपडी बजाउन बानी परेकाहरु गणेशमान सिंहको “घ्यूको बत्ती बाल्छन् “ भन्ने चर्चित उक्तिजस्तै थपडी बजाइरहन्छन् । उनीहरुलाई मन्चमा उक्लिऔँला भन्ने पनि हुँदैन कुन वक्ताले के ठिक भने के बेठिक भने भन्ने पनि हुँदैन, कसैको कुरा ध्यान दिएर सुन्नुपर्ने कर्जा खाएको पनि हुँदैन । उनीहरुको काम थपडी बजाउने मात्र हो ।
म यतिबेला हाम्रा पुराना साहित्यकार भीमनिधि तिवारीका यी ब्यङ्ग्यात्मक पङ्क्तिहरु सम्झिरहेछु––

“पङ्क पूज्य पदमा पुग्छन्
कमल मल मै हुन्छन्
धूर्त मूसा धान चोर्छन्
कृषक सिता गन्छन्
जसले जस्को भलाई गर्छ
त्यसले त्यसकै खाल्डो खन्छ
आफ्नै चेलो तँ के जान्ने
मै पो जान्ने भन्छ, मामा यहाँको माटै यस्तो छ“

म कार्यक्रमहरुमा प्रायः दर्शक÷श्रोतादीर्घाको सबैभन्दा पछिल्लो भागमा बस्न रुचाउँछु । बल्लबल्ल भेट भएका इष्ट मित्रहरुसँग भेटघाट र कुराकानी गर्न पाइने र औपचारिक पनि हुनु नपर्ने । उता मन्चासनको कुरा फरक छ । त्यहाँ पुगेपछि बोल्न नपाइने, गजक्क हुनु पर्ने, औपचारिकता पालन गर्नुपर्ने, बोल्ने पालो अन्तिम अन्तिमतिर पर्दा दर्शक÷स्रोतादीर्घा थोतो मकै जस्तै हुने । फेरि आफू मन्चासनमा पुग्दा रीस गर्ने र ज्वरो आउनेको संख्या धेरै हुने । सबैको शान्तिको लागि मलाई दर्शक÷श्र्रोतादीर्घा नै प्रिय लाग्छ ।

असल र पवित्र मनसायले आसनग्रहणको शुरुआत भएको हुनुपर्छ यसको ईतिहासमा; तर मलाई थाहा चाहिँ छैन । आजका दिनसम्म आइपुग्दा यो संस्कारले विकृत रुप धारण गरेको छ । कहिलेकाहीँ त साह्रै लाजलाग्दो दृश्य मन्चमा देख्नुपर्ने हुन्छ । हाम्रो समाजको सम्पूर्ण जसो क्षेत्र विखण्डित छ । ठुल्ठुला संस्थाहरु गुटकरण भएकाछन् । गुटको हितखातिर आसनग्रहण जग्मगाएको छ ।

तपाईँलाई यी शब्दहरु पढ्न बोझिलो भएको छ भने म विषयान्तर गर्छु । कार्यक्रमस्थलमा प्रायजसो मन्चतिर चिल्ला र राम्रा कुर्सी र सोफा राखिएका हुन्छन् यता दर्शकदीर्घातिर टुटलफुटल कुर्सीहरु हुन्छन् । यो विभेदको मनोवैज्ञानिक पक्ष के होला मैले बुझेको छैन । स्वयं कार्यक्रम आयोजक नै विभेदको पक्षमा हुन्छ अनि ब्यानरमा लेखिएको हुन्छ –– “विभेद विरुद्ध अभियान“ । हे दशा ! यो कस्तो अभियान हो, यस्तो अभियानले हामीलाई कहाँ पु¥याऊला !

आज एउटा कार्यक्रम छ । मलाई प्रमुख अतिथिको रुपमा निम्तो छ । म आज सबैभन्दा उच्च आसनग्रहण गर्दैछु । कपडा छानीछानी आइरन लगाएँ । चिटिक्क परें । हिँड्नेबेलामा यस्तो भयो–– निर्मला–– काँ हिँड्न आँट्नु भको ?
म–– कारेक्रममा ।
निर्मला–– पर्दैन, घरमा काम छ ।
म–– प्रमुख अतिथि बनाकाछन् ।
निर्मला–– तेसोभा त्यो माला र खादा बेचेर चामल लिएर आउनू ।
आज म आसनग्रहण गर्न जाँदैछु ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!