मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाको नेतृत्वमा संघको टोलीले ऊर्जामन्त्री पम्फा भुसाल र ऊर्जा सचिव देवेन्द्र कार्कीलाई भेटेर विद्युत कटौतीको समस्या समाधान गर्न सुझाव दिएको छ ।
टोली काठमाडौं गएर ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भेटघाट गरेको हो । टोलीले कटहरी गाउँपालिका, मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले विद्युत आपूर्तिमा भोगिरहेका समस्याप्रति ध्यानाकर्षण गराइ तिनको निराकरणका लागि आवश्यक कदम चाल्न अनुरोध गरेको छ ।
मन्त्री र सचिवसँगको भेटका क्रममा अध्यक्ष मुन्दडाले मोरङ–सुनसरी औद्योगिक करिडोर अन्तरगत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रहरुमा ३३ केभिए लाईन जडान रहेपनि विद्युत आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्यूत आपूर्ति हुँदा उद्योग संचालन गर्न कठिनाइ भइरहेको तथा अधिकांश उद्योगले उत्पादन कटौति गर्न बाध्य भएको बताएका थिए ।
अध्यक्ष मून्दडाले वर्षायाममा मर्मत सम्हारका कार्यहरु सुस्त हुँदा अवस्था जर्जर हुँदै गएको र ती समस्याले समग्र करिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौँको निर्यात प्रभावित भएको तथा राजस्वसमेत गुमिरहेको जनाउँदै विद्यमान समस्याहरुको शीघ्र निराकरणका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष मून्दडाले विद्युत महसुल र डिमाण्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण उद्योगहरुको लागत खर्च बढेको र त्यसको भार उपभोक्ता वर्गलाई समेत परिरहेको बताउदै ऊर्जा मन्त्रीलाई औद्योगिक उत्पादनका लागत खर्च न्यूनीकरण र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्थापनका लागि समेत अनुरोध गरेका थिए ।
टोलीमा अध्यक्ष मुन्दडा पूर्वअध्यक्ष महेशकुमार जाजूू, निर्वतमान अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष नविन रिजालको सहभागिता थियो ।