हिपमत डटकम
काठमाडौं,२४ माघ: फिल्म ‘आमा’ ९ फागुनबाट देशभर रिलिज हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार समेत आक्रमक बनाएको छ ।शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्मको शीर्ष भूमिकामा अभिनेत्री मिथिला शर्मा देखिएकी छन् भने छोरीको भूमिका सुरक्षा पन्तले निर्वाह गरेकी छन् ।
फिल्मको केही अगाडि ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरले दर्शकमा क्रेज बनाउन सफल भएको निर्देशक खनाल बताउँछन् ।
‘‘पशुपति प्रसाद’ प्रसादपछि मैले आस गरेको फिल्म हो ‘आमा’’ दीपेन्दले भने, ‘मलाई लाग्छ ‘आमा’ले हरेक किसिमका दर्शकको मन छुन्छ ।’
‘आमा’ जस्तो फिल्म अहिलेसम्म नबनेको समेत निर्देशक खनालको भनाइ रहेको छ ।
दीपेन्द्र ‘पशुपति प्रसाद’ हेरेर तृप्त बनेका दर्शकका लागि ‘आमा’ अर्को मन छुने फिल्म भएको बताउँछन् । ‘आमा’को कथा र निर्देशनमाथि उनको भरोसा पनि छ ।
नेपाली चलचित्रले आफ्नै कथा भन्न सकेको छैन । ‘आमा’को कथामा दर्शकले आफ्नोपन पाउने र फिल्मले दर्शक रुहाउने दीपेन्द्रको दाबी रहेको छ ।
फिल्मका लागि अभिनेत्री सुरक्षा पन्तले आफ्नो कपाल समेत मुण्डन गरेकी छिन् । फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतका कलाकारको समेत अभिनय रहेको छ ।