हिपमत डटकम
काठमाडौं,२२ माघ:एक जना शीर्ष इरानी कुटनीतिज्ञले इरान आफ्ना क्षेत्रीय प्रतिद्वन्द्वीहरु साउदी र यूएईसँग हाल रहेका मतभिन्नता ‘जतिसक्दो चाँडो’ समाधान गर्न चाहेको बताएका छन् ।
इराकका लागि इरानी राजदूत इराज मस्जेदीले मंगलबार एक अन्तरवार्तामा भने ,‘ मेरो देशको सरकार इराकबाट अथवा यो क्षेत्रका अन्य कुनै देशबाट हुने समस्या समाधानको प्रयासलाई स्वागत गर्छ ।’
इराकको सरकारी समाचार एजेन्सीसँगको अन्तरवार्तामा मस्जेदीले इराकी विमानस्थलमा अमेरिकी आक्रमणमा मारिएका सुलेमानी खासमा साउदी अरबसँगको सम्बन्ध सुधारमा इरानको अडानबारे सूचित गर्न गइरहेको बताए ।
‘इराकले इरान र साउदी अरबको मतभेद समाधान गर्न जुन प्रयास गरिरहेको छ, तेहरान त्यसको स्वागत गर्छ ,’ मेस्जेदीले बताए ।
उनले इराकले पछिल्लो समय दुई क्षेत्रिय प्रतिद्वन्दीबीचमा मध्यस्थता गरेको कुरालाई संकेत गरेका थिए ।
उनले इरान आफ्नो प्रतिद्वन्दीसँग ‘जतिसक्दो चाँडो’ ‘मतभिन्नता र चुनौती’ समाधान गर्न चाहेको बताए ।
मस्जेदीले सुलेमानीको हत्यापछि इरानको मिसाइल आक्रमणबारे पनि टिप्पणी गरेका छन् ।
सुलेमानीको हत्याको विरोधमा इरानले इराकमा आधार रहेका दुई अमेरिकीसैन्य आधारमा मिसाइल प्रहार गरेको थियो ।
कम्तिमा १५ मिसाइल प्रहार गरिएको समाचार छ । आक्रमणबाट ५० अमेरिकी सैनिकको दिमागमा चोट पुगेको भए पनि कसैको मृत्यु भएको छैन ।
वासिंटनले सुलेमानीलाई इराकमा मारेको कारण इरानले त्यहीँका अमेरिकी सैन्य आधारमा आक्रमण गरेको बताए ।
मस्जेदीले इरानले भावी अमेरिकी आक्रमणलाई कठोर प्रतिक्रिया दिने बताए ।