बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाश लागुऔषध मुद्दामा फसेपछि ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीबाट राजिनामा दिएकी छिन् । एजेन्सीका सह–सस्थापक र सीईओ विजय सुब्रमण्यमले एक विज्ञप्ती जारी गर्दै कम्पनीमा उनले राजिनामा दिएको र उनीसँग कुनै नाता नभएको स्पष्ट पारेका छन् ।
विजयले विज्ञप्तीमा भनेका छन्, ‘करिश्माले २१ अक्टोबरमा राजिनामा दिएकी थिइन् र उनको राजिनामा स्विकृत भइसकेको छ । अब करिश्माको यस कम्पनी वा दीपिका पादुकोणसहित कुनै पनि कलाकारहरुसँग लेन देन छैन्, जसको प्रतिनिधित्व एजेन्सीले गरेको थियो ।’
उनले हालपनि करिश्मामाथि अनुसन्धान चलिरहेको र त्यो अनुसन्धान करिश्मा प्रकाशमाथि व्यक्तिगत रुपमा मात्र चल्ने पनि बताएका छन् । करिश्मा प्रकाश आज सोधपु्छको लागि एनसीबीमा जादैछिन् । २७ अक्टोबरमा उनको घर तलासी गर्दा १.७ ग्रामको चरेस र सीबीडी आयलका ३ बोतल भेटिएका थिए । उनको घरबाट लागुऔषध बरामद गरेपछि एनसीबीले सोधपुछको लागि बोलाएपनि पछिल्लो समयमा उपस्थित भएकी थिइनन् ।