अन्धाको देशमा छ मेरो घर
न्यायका लागि लड्दैँ छु निरन्तर
पिडामा छटपटाउँदा पनि यहाँ
भलादमीहरु आँखामा पट्टी लगाई हिड्दछन् ।
आली तास्दा तम्सिने किसानहरु
ठूलाले बाली मास्दा नि चुपचाप बस्दछन्
नायिका जिस्क्याउँदा कट्कटिने दाँतहरु
छोरी बेचिदा नि आँखा चिम्लेर बस्दछन् ।
गरिबका रगत चुस्नेहरु नै अचेल
न्यायको तराजु लिई सभामा उभ्दछन्
कैयौँका साहरा खोस्नेहरु नै अचेल
गरिबका मसिहा आफूलाई ठान्दछन् ।
सेवामा नै स्वार्थ लुकाईकन
गरिबको उद्धार गर्ने स्वाङ पार्दछन्
मानिसलाई ठग्न पल्केकाहरु अचेल
देवताका नाममा पनि लुट्न थालेछन् ।
दिउँसै बत्ती बालेर बस्नेहरु अचेल
सूर्य अस्तको प्रतिक्षा गर्दछन्
कर्तुतहरु लुकाउनलाई नै होलान् सायद
जुनकिरीको उज्यालोबाट नि डराउँदछन् ।
उदाङ्गो भइसकेका छन् ती पाखण्डीहरु
ता पनि खुलेआम समाजमा घुम्दछन्
प्रतिकार गर्ने आँट हुदाँ हुदैँ पनि म मा
अन्धाका देशमा बस्न बाध्य भएँ छु म ।