कोरोनाको महामारी शुरु भएपछि कतिपय मान्छे लाश गन्न पशुपति आर्यघाटतिर टहलिए । तर, पूर्वअवस्था भन्दा कम शव दहन हुन थालेपछि ती छक्क परे । अहिले खुल्न आएको छ-अनगिन्ती शवहरु मूर्दाघरमा खातमाथि खात बनाएर राखिएको छ ।
ड्युटीका प्रहरीले सवारी दुर्घटनादेखि अनेकन कारण बेवारिस बनेका शव बुझाउने सरकारी ठाउँ हो, वीर अस्पताल । प्रहरीले बुझाउनासाथ वीर अस्पतालले ती शवलाई सोझै लाश घरमा लैजान्छ । तर,लाशघरको दुःख अलग्गै छ ।
अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा मानिसको मृत शरीरलाई राख्ने ठाउँलाई चिस्यानयुक्त बनाउनु ती स्वास्थ्य संस्थाहरुको हकमा न्युनतम शर्त मानिन्छ । तर, सरकारी स्वामित्वको देशको सबभन्दा पुरानो वीर अस्पतालसँग शव राखिने ठाउँका लागि चिस्यानयुक्त प्रविधि वा फ्रिजर छैन । मानिसका शव खातमाथि खात थुपारिँदा पूरै अस्पताल दुर्गन्धित भइरहेको छ । शव सुन्निएर चिनिन नसक्ने, मुसाले खाएर छियाछिया पर्नेजस्ता समस्या देखिएका छन् ।
अस्पतालमा भर्ना भएका कतिपय बिरामी त्यही दुर्गन्धका कारण अनेकन संक्रमण फैलिएर ज्यान गुमाउने स्थितिमा पुगेका छन् । यस्तो हुँदा पनि सरकारलाई फृजर ल्याउनेतर्फ चासो छैन । उपत्यकाका सबैजसो निजी अस्पतालका शवगृहमा फ्रिज राखिएको छ । सरकारीतर्फ नेपाल प्रहरी अस्पतालमा ६, शिक्षणमा ५ फ्रिज छ । शिक्षणको ५ मध्ये एउटामा विगत ६ वर्षदेखि गोरखा, फुजेलका नन्दप्रसाद अधिकारीको शवले ठाउँ ओगटेको छ ।
अन्तिम संस्कार गर्ने परिवारका सदस्य काठमाडौं आइपुग्न समय लाग्ने, जहाज नचलेको, टिकट असाध्यै महङ्गो कारण अहिले शवगृह भरिभराऊ भएको छ । विदेशीहरुले नेपालीको मृत्यु संस्कार बुझ्दैनन् । अभिभावकको निधनपछि कामबाट नेपालीले समयमा छुट्टी पाउँदैनन् ।
सामान्य अस्पतालबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भइसकेको पाटनमा पनि फ्रिज त छ,तर कहिले चल्छ कहिले चल्दैन । यसरी बेवारिस वा अव्यवस्थित रुपमा राखिएका शवहरुले अहिले सरकारी अस्पताल भरिभराउ छन् ।
यस्तो हुनुको कारण हो,मृतकका छोराछोरी देश बाहिर हुनु ।
अन्तिम संस्कार गर्ने परिवारका सदस्य काठमाडौं आइपुग्न समय लाग्ने,जहाज नचलेको,टिकट असाध्यै महङ्गो कारण अहिले शवगृह भरिभराऊ भएको छ । विदेशीहरुले नेपालीको मृत्यु संस्कार बुझ्दैनन् । अभिभावकको निधनपछि कामबाट नेपालीले समयमा छुट्टी पाउँदैनन् । त्यसमाथि अहिले विश्वव्यापी रुपमा कोभिड महामारीका यता बाबुआमाको निधन हुने, उता विदेशमा रहेका सन्तान उतै अड्किने क्रम बढेको छ ।
वीर अस्पतालमा बिनाफ्रिज राखिएका शव दुई दिनमा गन्हाउन थाल्छन् । त्यसमाथि मृतकमा कोभिड संक्रमण देखियो भने सेनाले बाहेक अरुले चलाउन पाउँदैनन् । लापरवाहीको हद कस्तो छ भने, ज्यान मुद्दाको सात वर्षे सजायँ भुक्तान गरी पर्सिपल्ट घर जान लागेका बन्दी रामएकवाल जैसवाल रुघाखोकीका कारण वीर अस्पताल भर्ना भए । अस्पतालमा परीक्षण गरिँदा उनमा कोरोना संक्रमण भेटियो । र, त्यहीँ उनको ज्यान गयो ।
कोरोना भनेपछि यसै त बिरामीमाथि छिःछि–दुरदुर हुन्छ । त्यसमाथि शवमाथिको व्यवहार भनिसाध्ये छैन । दुई दिन शवगृहमा राखेपछि सुन्निएर चिन्न नसकिने हुन्छ ।