सागपात या अन्य तरकारी नै किन नहोस्, यदि गलत तरिकाबाट पकाइन्छ भने त्यसमा रेचक गुण (दिसा लगाउने) को बदला कब्जकारक गुणको बिकास हुन्छ । आजभोलि तरकारीलाई अनेकन मसलाहरु र तेल राखेर यति तार्ने र भुट्ने गरिन्छ कि त्यसको पौष्टिकता त नाश हुन्छ नै, अत्यधिक तेल र मसलाको प्रयोगले त्यो भोजन शरीरको गुणधर्म विपरीत हुनजान्छ ।
मसलाको अत्यधिक प्रयोग होटलहरुको देन हो । होटलमा आज एक प्रकारको खाद्य परिकार बनाईन्छ र बेलुकासम्म जब त्यो बिकिसक्दैन त्यसलाई अर्को दिन बिहान पुनः मसला र तेल राखेर भुटी ताजा भनेर प्रस्तुत गरिन्छ । मसला र तेलमा तार्ने भुट्ने परम्परा प्रमुख रुपमा होटल व्यवसाय, राजा महाराजाहरु र मुसलमान बाद शाहहरुको देन हो ।
तरकारी पकाउँदा निम्नलिखित कुराहरुमा ध्यान दिऔं:१. तरकारी काटेपछि धेरै समयसम्म राख्नुहुँदैन । तत्कालै पकाउनुपर्दछ र पाकेपछि धेरै समय नराखी खानुपर्दछ ।२. तरकारी सकेसम्म कम पानी राखेर ढाकेर पकाउनुपर्दछ । धेरै समयसम्म पकाइरहनु हुँदैन । पानी धेरै राखेर सुकाउनु भन्दै पकाउँदै गर्ने चलन धेरै ठाउँमा पाईन्छ तर यो पूर्णतः गलत तरिका हो ।
३. तरकारी पटक पटक तताउँदै खाँदै गर्ने चलन पाईन्छ । यसरी धेरै पटक तताइरहँदा स्वाद र पौष्टिकता दुबै नष्ट हुन्छन् । ४. तरकारी ठूलो ठूलो टुक्रामा काट्नुपर्दछ । सिंगै पकाउन मिलेमा सिंगै पकाउनु राम्रो हो । काटेपछि धुनु हुँदैन; धोएर काट्नु पर्दछ । ५. गाजर, मूला, चुकन्दर, गाँठगोभी आदिको कमलो पात फ्याँक्नु हुँदैन । यसमा अध्यधिक भिटामिन र खनिज तत्व रहेको हुन्छ । यसमा कब्ज निवारक गुण पनि छ ।
६. तरकारीलाई धेरैबेर पानीमा भिजाएर राख्नु हुँदैन । काटेपछि त पानीमा भुलेर पनि भिजाउनु हुँदैन । धेरै समय पानीमा भिजाउनाले शरीरका लागि अति आवश्यक पोषक तत्व पानीमा घुलेर नष्ट हुन्छ । ७. जुन तरकारीको बोक्रा एकदमै खान मिल्दैन त्यसलाई मात्र तास्ने, खान मिलेसम्म नतास्ने । बोक्रा तास्न नै परेमा अति पातलो गरी तास्ने किनभने अत्यधिक भिटामिन र खनिज तत्व बोक्राको बाहिरी तहसँगै त्यसको तल रहेको हुन्छ । भाण्टा, परवर, घिरौंला, तोरई जस्ता तरकारीको बोक्रा फ्याँक्नु अहितकर हुन्छ ।
८. काँचो खान मिल्ने टमाटर, काँक्रो, पातगोभी, मूला, सलादको पात, गाजर, पालक आदि सफासँग धोएर काँचै खानु बढी स्वस्थ्यकर हुन्छ । यिनीहरुलाई पकाउनाले पौष्टिक तत्व नष्ट हुनुका साथै कब्ज निवारक गुण पनि नष्ट हुन्छ । उपर्युक्त कुराहरु काँचो खानुभन्दा पहिले पोटास पानी या तातो पानीले राम्रोसँग सफा गरेर मात्र खानुपर्दछ जसले किटाणु र फोहर दुबै फ्याँकिदिन्छ ।
साभार :Gnews Nepal