कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको ६३ औं बैठकले कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप उनीहरुलाई सुरु तलब स्केलको ५० प्रतिशत थप प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगर प्रमुख दिल बहादुर ऐरले बताउनुभयो । उहाँका अनुसार नगरअन्र्तगतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, सवारी चालक, कार्यालय सहयोगी लगायतका कर्मचारीलाई शुरु स्केलको थप २५ प्रतिशत प्रोत्साहन भत्ता दिइनेछ । कोरोना भाइरस नियन्त्रणका लागि पूर्वतयारी तथा रोगको सङ्क्रमण फैलिन नदिनका लागि रु २० लाखको नगर स्तरीय राहत कोष पनि खडा गरिएको उहाँले जानकारी दिनुभयो । भाइरसको सङ्क्रमण नियन्त्रणका लागि नगरप्रमुख ऐरको संयोजकत्वमा २९ सदस्यीय मूल समिति समेत गठन गरिएको छ । नगरपालिकाको दुई ठाउँमा दश शय्याको आइसोलेशन कक्ष समेत स्थापना गरेको छ ।