यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आफू मातहतका मजदूर तथा व्यवसायी एवं आम नागरिकमा अपिल गरेको छ । सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि लकडाउन गरेको अवस्थामा घरभित्रै बस्न र सामाजिक दूरी बढाउन पनि कोषले आग्रह गरेको छ । कोषका अध्यक्ष दिनेश फुल्लेलले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा महामारीजन्य प्रकोपको नियन्त्रण सबैको साझा दायित्व भएकाले सरकारले चालेका हरेक कदममा साथ र समर्थन रहने उल्लेख गर्नुभएको छ । विश्वव्यापी रूपमा बढ्दै गएको कोरोनाको सङ्क्रमणलाई लिएर नआत्तिन तर सतर्क रहन विज्ञप्तिमा आग्रह गरिएको छ । साथै विज्ञप्तिमा लकडाउनका बेला दैनिक ज्याला मजदूरी गर्नेहरु बढी समस्यामा परेकाले उनीहरुका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले राहत उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ ।