बिराटनगर ।धनपालथान गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालबारे गलत सूचना फैलिएको भन्दै गाउँपालिकाका अध्यक्षले स्पष्टिकरण दिएका छन्। उनका अनुसार, उक्त अस्पतालको शिलान्यास पहिले नै सम्पन्न भइसकेको हो, र हाल फाल्गुन २९ गते हुने कार्यक्रम केवल पिलर ढलानको पूजा मात्र हो। कार्यपालिकामा यसको निर्णय भएको छ तर बिपक्षि दलका केही नेताहरुले गलत नियतका कारण यस भ्रम फैलाएको उनले बताए।
गाउँपालिकाका अध्यक्षका अनुसार, घर निर्माणमा ढलान भर्ने बेलामा पूजा गर्ने परम्परा अनुरूप नै यो धार्मिक प्रक्रिया गरिँदैछ। यसलाई नयाँ शिलान्यास भनेर प्रचार गर्नु भ्रामक भएको बताउँदै उनले गाउँवासीलाई यस्ता अफवाहमा नपर्न आग्रह गरेका छन्।
“गाउँपालिकाले विकासका कामहरू पारदर्शी रूपमा अघि बढाइरहेको छ। अफवाह फैलाएर होइन, सहकार्य गरेर मात्रै समृद्धि सम्भव छ,” अध्यक्षले भने। उनले सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयबासीलाई विकास निर्माणमा साथ दिन अपिलसमेत गरेका छन्।