सिरहा। नेपाल एसबिआई बैंक मिर्चैया शाखाले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ। महिला सशक्तीकरण र समानताको सन्देश फैलाउने उद्देश्यले बैंकले मिर्चैया स्थित नर्सिङ क्याम्पसमा विशेष कार्यक्रमको आयोजना गरी करिब १०० जना नर्सिङ विद्यार्थीहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा विद्यार्थीहरूलाई दोसल्ला ओढाएर, अबिर लगाएर र विशेष गिफ्ट प्रदान गर्दै सम्मान गरिएको बैंकका शाखा प्रमुख विकास कुमार मिश्रले जानकारी दिए।
यस अवसरमा क्याम्पसका संस्थापक डा. बिरेन्द्र प्रसाद चौधरी, बैंक तथा क्याम्पसका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चितता’ नारासहित कार्यक्रम आयोजना गरेको हो।
प्रत्येक वर्ष ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गरिएको यस सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।