इटहरा। मोरङको रतुवामाई ८ इटहरास्थित सरस्वती माध्यमिक विद्यालयको ५५ औं बार्षिक उत्सव सम्पन्न भएको छ । हिजो विविध कार्यक्रम गरेर बार्षिक उत्सव मनाइयो ।
कार्यक्रमका प्रमुख अतिथि, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पानसमा दीप प्रज्ज्वलन गरेर बार्षिक उत्सवको समुद्घाटन गर्नुभयो । बार्षिक उत्सव समारोहमा उहाँले संघीय सरकारद्वारा निर्मित विद्यालयको प्रशासनिक भवनको समुद्घाटन गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नमुना विद्यालय विकास योजना अन्तरगत यो प्रशासनिक भवन निर्माण भएको हो ।
बार्षिक उत्सवका अवसरमा विद्यालयको विकास र उन्नयनमा पुरयाएको योगदानको कदर गर्दै तिन जना व्यक्तित्वलाई सम्मान गरियो। सम्मानित हुनेहरुमा नेपाल सरकारका पूर्व सहसचिव तुलसीराम सेडाई, अभिभावक जयप्रसाद बाँस्तोला र शिक्षिका बुलाबुला त्रिताल हुनुहुन्छ । सेडाई विद्यालयको भूतपूर्व विद्द्यार्थी हुनुहुन्छ भने बाँस्तोला विद्यालय स्थापनाकालका अग्रज अभिभावक हुनुहुन्छ । त्रिताल सेवारत शिक्षिका हुनुहुन्छ । उहाँहरुलाई मुख्यमन्त्री कार्की र प्रदेशसभा सदस्य मालती सुब्बाले सम्मानपत्र र उपहार प्रदान गर्दै दोसल्ला ओडाएर सम्मान गर्नुभयो । सम्मानित व्यक्तिवहरुलाई समारोहका अन्य अतिथिहरुले पनि फूलटीका लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
यसैबीच मुख्यमन्त्री कार्कीले विद्यालय गीतको लोकार्पण पनि गर्नुभयो । शिक्षक युवराज पौडेलको शब्दरचना र शिक्षक नवराज राईको संगीत रहेको गीतमा छ जना गायक गायिकाको आवाज रहेको छ । संगीतकार राई सहित सृष्टी हिङमाङ, दिलिप माखिम, विद्द्या लिम्बू,शान्ता लिम्बू र प्रज्ज्वल काफ्लेले आवाज दिनुभएको छ । लोकार्पण भएसँगै स्कुल गीतमा विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले राज्यको लागानी भएका सार्वजानिक विद्यालयहरुलाई सवल र गुणस्तरीय बनाउनु पर्ने उल्लेख गर्नुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएकोमा चिन्ता ब्यक्त गर्दै उहाँले यसमा सुधार गर्न सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले सरस्वति मावि इटहराको विगतलाई स्मरण पनि गर्नुभयो । २०३६-३७ सालदेखि यस विद्यालयसँग आफ्नो गहिरो सम्बन्ध रहेको उहाँले सुनाउनुभयो । आफु जनता मावि गौरादहको विद्यार्थी हुँदा यहाँका विद्यार्थी र कतिपय शिक्षकहरुसँग समेत राम्रो सम्बन्ध रहेको कारण गौरादह र इटहराको तत्कालीन आदानप्रदान बलियो रहेको उहाँले बाताउनुभयो । यस्तो सम्बन्ध त्यो बेला राजनीतिक कारणले ज्यादा विकास भएको उहाँको भनाइ थियो ।
सरस्वती माविमा नमुना कार्यक्रम संचालन भइरहेकोमा प्रशन्नता ब्यक्त गर्दै मुख्यमन्त्री कार्कीले विद्यालयको अहिलेको गरिमालाई अझ माथिल्लोस्तरमा पुरयाउन व्यवस्थापन समिति, शिक्षक र स्थानिय अभिभावकहरुलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारको तर्फबाट यस विद्यालयलाई आवश्यक सहयोग गर्ने बचन समेत दिनुभयो ।
उहाँले मुलुकको लोकतान्त्रिक आन्दोलनमा इटहराको विशिष्ट स्थान रहेको पनि उल्लेख गर्नुभयो । जननेता मदन भण्डारीको केमभूमी इटहरा लोकतान्त्रिक विकासको लागि सम्मानित स्थान रहेको उहाँको भनाइ थियो । जननेता भण्डारीको विचारले अन्तराष्ट्रिय राजनीतिलाई नेतृत्व गरिरहेको भन्दै मुख्यमन्त्री कार्कीले उहाँप्रति सम्मान प्रकट गर्नुभयो ।
सम्मानित व्यक्तित्व पूर्व सहसचिव सेडाईले विद्यालय पढ्दाका अनुभव र अनुभूतिहरु प्रस्तुत गर्नुभयो । आफुले यस विद्यालयमा कक्षा ४ देखि १० सम्ममा पढेको सुनाउँदै उहाँले त्यो बेला स्कुलले आर्जन गरेको ख्यातिका विषयमा चर्चा गर्नुभयो । सरस्वती माविको पढाइ एकदमै राम्रो छ भन्ने सुनेकैले आफुलाई बुबाआमाले २०३१ सालमा कक्षा ४ मा भर्ना गरिदिनु भएको उहाँले स्मरण गर्नुभयो ।
२०३८ सालमा साल एसएलसी उतीर्ण गर्नुभएका सेडाई जनप्रशासन विषयमा स्नातकोत्तर हुनुहुन्छ । २०४४ मा सहलेखापालबाट निजामती सेवामा प्रवेश गर्नुभएका उहाँ सहसचिवबाट २००७९ मा सेवानिवृत्त हुनुभएको हो । आगामी दिनमा यस विद्यालयको विकासका लागि केहि गर्ने इच्छा ब्यक्त गर्दै उहाँले विद्यालयले सञ्चालन गर्ने योजनाहरुमा आफुलाई पनि सहभागी गराउन आग्रह समेत गर्नुभयो ।
विद्यालयकी पूर्व शिक्षिकासमेत रहेकी प्रदेश सभा सदस्य सुब्बाले प्रदेश सरकारका तर्फबाट विद्यालयलाई आवश्यक सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । प्रधानाध्यापक कञ्चनमाला बर्माले विद्यालमा सञ्चालन भइरहेको नमुना विकास कर्यक्रमाका विषयमा संक्षिप्त जानकारी प्रस्तुत गर्नुभयो । पूर्वप्रधानाध्यापक गोविन्दबहादुर पौडेलले नमुना विकास कार्यक्रमका लागि प्रारम्भिक चरणदेखि गत साउनसम्म आफ्नो नेतृत्वमा भएका प्रयास र उपलाब्धिहरु उल्लेख गर्नुभयो । स्वागत मन्तब्य राख्दै शिक्षक मिलन ढकाल आफ्नो निमन्त्रणालाई स्वीकार गरी बार्षिक उत्सव समारोहमा उपस्थित भइदिनु भएकोमा अतिथिहरुप्रति आभार प्रकट गर्नुभयो ।
२०७८ देखि संचालन भइरहेको नमुना विकास कार्यक्रम अन्तरगत अघिल्लो आर्थिक बर्षसम्ममा भौतिक निर्माणतर्फ साढे ३ करोड र शैशिक तथा व्यवस्थापकीय सुधारतर्फ ९० लाख खर्च भएको विद्यालयका लेखापाल भरत घिमिरेले जानकारी गराउनुभयो । चालु आर्थिक बर्षमा भौतिक निर्माणतर्फ एक करोड र शैशिक तथा व्यवस्थापकीय सुधारतर्फ १० लाख बिनियोजन भएको पनि उहाँले जनाकारे दिनुभयो ।
उहाँका अनुसार निर्माणाधीन अवस्थामा रहेको स्टाफ तथा प्रयोगशाला ब्लक चालु आर्थिक बर्षमा सम्पन्न हुने र यसका लागि टेन्डर लागिसकेको छ । हिजो उद्घाटन भएको दुई तले प्रशाशनिक भवनमा दुई वटा हलसहित १० वटा कोठा छन् । दुई तले स्टाफ तथा प्रयोगशाला ब्लकमा २० वटा कोठा हुनेछन् ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुले स्थापना गर्नुभएको अक्षयकोष र विद्यालयको कोषबाट छात्रवृति वितरण गरियो । यसैगरी बार्षिक उत्सवका अवसरमा संचालित खेलकुदलगायतका प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरियो ।
गायिका सृष्टी हिङमाङले आफ्नो गायन प्रस्तुत गरेर बार्षिक उत्सवका सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नुभयो । विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरे ।
बार्षिक उत्सव समारोहमा नगरपालिकाका शिक्षा शाखा प्रमुख शुरेश निरौला, इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम अधिकारी मुख्यमन्त्रीका स्वकीय सचिव जीवन कार्की, विद्यालयका पूर्व प्रधानाध्यापक टीकेन्द्रबहादुर पोमु, पूर्व शिक्षकहरु, छिमेकी विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिलागायतका अतिथिहरुको उपस्थिति थियो ।
बार्षिक उत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न भयो ।