नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई दैनिक अत्यावश्यक वस्तुको अभाव हुन नदिन घुम्ति खाद्यन्न तथा तरकारी सेवा शुरुआत गरेको छ । कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लकडाउन भएपछि उपमहानगरपालिकाले घर घरमा नै सो आज विहानदेखि शुरुआत गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी र खाद्यान्न सेवाका लागि छुट्टा छुट्टै सेवा प्रदायकलाई जिम्मा दिइएको छ । उपभोक्ताले विहान माग गरेपछि साँझ उपभोग्य वस्तु घरमै उपलब्ध हुनेछ । सेवा प्रवाह गर्दा सेवा प्रदायकले मूल्यसुचि अनिवार्य रुपमा टाँस गर्ने, भीडभाड नहुने गरी सेवा सञ्चालन गर्ने, आवश्यकता भन्दा बढि सामग्री खरिद गर्न नदिने, सुपथ मूल्यमा सामग्री उपलब्ध गराउने र आम नागरिकलै घरमा बसेर कोरोना भाईरस विरुद्ध सहयोग गर्नुपर्ने शर्त रहेको उपप्रमुख थापामगरले बताउनुभयो । उपमहानगरपालिकाले सेवा लिन सेवाप्रदायक संस्थाको सम्पर्क नम्बर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । होटलमा क्वारेन्टाइन नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालित अस्थायी निगरानी कक्ष क्वारेन्टाइनमा रहेका १० जनालाई सुविधा सम्पन्न होटलमा सारिएको छ । उपमहानगरपालिकाले सो क्याम्पसको हाताभित्र सञ्चालन गरेको अस्थायी क्वारेन्टाइन अव्यवस्थित भएपछि होटल सामथ्र्य ईनमा सारिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार होटलमा हरेकलाई छुट्टाछुट्टै कोठमा राखिने व्यवस्था गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)का सम्भावित जोखिममा रहेकालाई सुरक्षित रुपमा निगरानी गर्न क्वारेन्टाइन सफा, वातावरणमैत्री र सम्पूर्ण सुविधायुक्त हुनुपर्ने भएकोले तत्काललाई होटलमा सारिएको जनाइएको छ । बाँकेको खजुरा गाउँपालिकाले वडा नं. १ राधापुरस्थित मैटहवा माध्यमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा १ महिलासहित २८ जनालाई राखिएको छ । त्यहाँरहनेलाई खाना तथा इन्टरनेट व्यवस्था सहित सुविधा सम्पन्न बनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।