रबिन्द्र बराल

आइतबार, माघ २०, २०८१ || 1172  पटक पढिएको

मोरङको रतुवामाई नगरपालिका-७ स्थित मलामीघाटबाट नगरपालिकाले टेन्डरमार्फत २ लाख १० हजार बराबरको मात्र बालु निकासी गर्न अनुमति दिएको भए पनि ठेकेदारहरूले खोलाको किनारमा १० बिघाभन्दा बढी स्थानको बालु निकासा गरेर बिक्री वितरण गरेका छन्। नगरपालिकाको मापदण्डभन्दा बढी मात्रामा बालु निकासा गरेपछि अहिले सो क्षेत्रका स्थानीयवासीहरू बर्खाको समयमा आफ्नो खेतीयोग्य जमिनसमेत बाढीले कटान गर्ने हो कि भन्ने चिन्तामा छन्। उनीहरू खोलाको केही मिटर टाढा मात्रै रहेको आफ्नो घर डुबानमा पर्ने हो कि भन्दै त्रसित बनेका छन्।

स्थानीय वेदनाथ राजवंशीका अनुसार आफ्नो हजुरबाको पालामा उक्त स्थानमा खेतीयोग्य जमिन थियो र केही समयपछि रतुवा खोलाले धार परिवर्तन गरेपछि अहिलेसम्म वर्षौंदेखि वार्षिक रूपमा उक्त जग्गाको मालपोत आफूले तिर्दै आएको भए तापनि अहिले नगरपालिकाले आफूखुसी खोलाको बालुवा बिक्रीका लागि केही महिना अगाडि टेन्डरमार्फत ठेक्का लगाएको र खोलाको मापदण्डभन्दा बढी मात्रामा बालुवा निकासी गरेको छ।

अहिले बालु निकासीपछि सो गाउँको सत्सङ्ग टोलका ३ सय घरपरिवारहरू वर्षाको समयमा गाउँ नै बाढीले बगाउने डरले चिन्तित बनेका छन्। स्थानीय बासुदेव प्रसाद राजवंशीका अनुसार जथाभावी स्थानबाट बालुवा निकासी गर्दा आफ्नो गाउँ नै जोखिममा पर्ने खतरा रहेको र वर्षाको समयमा खेतीयोग्य जमिनसमेत कटान गर्ने समस्या अझै बढ्दै गएको र गाउँ नै डुब्ने समस्या रहेको छ।

स्थानीयहरूका अनुसार उक्त सडकबाट दैनिक दर्जनौं ट्याक्टर र टिपरहरूले बालुवा लैजाने गरेकाले आफूहरू धूलोको चपेटामा बस्नुपर्ने र सबैतिर धूलोले समस्या पर्ने गरेको छ। ठेकेदारले कुनैकुनै बेला सडकमा पानी हाले तापनि आफूहरूलाई आवतजावतमा निकै समस्या पर्ने गरेको छ र वर्षाको समयमा गाउँ नै जोखिममा पर्ने समस्या रहेको छ। नगरपालिकालाई आफूहरूले बारम्बार जानकारी गराउँदासमेत कुनै पहल नभएको उनीहरूले आरोप लगाएका छन्।

नगरपालिका प्रशासकीय इन्जिनियर गजेन्द्र साहका अनुसार नगरले कात्तिक १५ गते बालु निकासीका लागि टेन्डर आह्वान गरेर २ लाख ३ हजार ४ सय १२ रुपैयाँमा सूचना प्रकाशन गरेको र ठेकेदारले २ लाख ५ हजार रुपैयाँमा ठेक्का लिएको उनले बताए। तर ठेकेदारले मापदण्डविपरीत बालुवा निकासी गरेको स्थानीयले आवाज उठाए पछि नगरपालिकाले बालु निकासीमा रोक लगाएको उनले बताए। ठेकेदारहरूले अहिले रतुवामाईको विभिन्न स्थानहरूमा बालुवाको स्टक गरेर राखेका छन्। सम्बन्धित निकायले समयमै ध्यान नदिए वर्षाको समयमा गाउँ नै जोखिममा पर्ने स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!