ऐतिहासिक धार्मिकस्थल सताक्षीधाममा आगामी मंसिर १४ गतेदेखि २४ गतेसम्म भव्य गोरक्षा महोत्सव तथा महायज्ञ आयोजना हुने भएको छ। श्री शताक्षी गोवर्द्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा हुने यस महोत्सवमा पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह, लिंग महापुराण कथा प्रवचन जस्ता धार्मिक कार्यक्रमहरु हुनेछन्।
महोत्सवको मुख्य आकर्षण ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा गरिने विशेष अर्चना हो। यसका लागि सवा करोड रुद्राक्षको माला निर्माण गरिएको छ। महोत्सवमा ४०० भन्दा बढी विद्वान वर्गको सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर गौशालाको वार्षिकोत्सव मनाइनेछ। दैनिक रुपमा अखण्ड हरिनाम संकीर्तन, बालचतुर्दशी उत्सव, बृद्ध सम्मेलन, भण्डारा, गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक विचार गोष्ठी जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गरिने छन्। अन्तिम दिन नेपाल प्रहरी र उत्कृष्ट गौसेवकलाई सम्मान गरिने छ।
गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले गौ संरक्षणको महत्वमा जोड दिँदै गौ हत्यालाई महापाप बताएका छन्। उनले गौलाई देवीको रूपमा पूजा गर्नु पर्नेमा जोड दिए।
गौशालाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गौशाला प्रमुख घनश्याम खनाल शास्त्री, कार्यसमिति सदस्य कृष्ण खरेललगायतको उपस्थिति रहेको थियो।