बिराटनगर। नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारसँग जादुको छडी नभएको तर इमानदारीपूर्वक मिहिनेत गरेर जनताको हितमा काम गरिरहेको बताएका छन्। नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री सिंहले हालको सरकारले आर्थिक, सामाजिक तथा विकासका विभिन्न चुनौतीहरूलाई समाधान गर्न निरन्तर प्रयास गरिरहेको बताए।
उनले भने, हाम्रो सरकारमा रहेका हरेक व्यक्ति र म आफैं मिहिनेत र लगनशीलतासाथ जनताको पक्षमा काम गरिरहेका छौँ। हामी जनताको अपेक्षा पूरा गर्न कटिबद्ध छौँ र जनतासँग सधैँ इमानदार रहन्छौँ।”
मन्त्री सिंहले दुई दलीय संयन्त्रको निर्माण गरिएको जानकारी दिदैँ सरकारलाई निगरानी गर्न र जनताको माग अनुसार आवश्यक निर्णय लिन उक्त संयन्त्रले मद्दत गर्ने बताए। उनका अनुसार सरकारले देशभरिका जनताका समस्याहरूलाई बुझेर ती समस्याहरू समाधान गर्न ठोस कदमहरू उठाइरहेको छ।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति तथा प्रतिनिधि सभा सदस्य डिग बहादुर लिम्बुले अघिल्लो सरकारले तयार पारेको बजेटलाई सन्शोधन गरी नयाँ बजेट ल्याउनु पर्ने आवश्यकता रहेको औंल्याए। उनले वर्तमान सरकारको कामकाजप्रति समर्थन जनाउँदै देशको आर्थिक सुधारका लागि नयाँ रणनीतिहरू अवलम्बन गर्नुपर्ने धारणा राखे।
नेताहरूका विचार सुन्नका लागि विभिन्न स्थानबाट कार्यकर्ताहरूको उपस्थिति रहेको कार्यक्रममा संगठनको सुदृढीकरण र आगामी चुनावी रणनीतिबारे छलफल गरिएको थियो।