विराटनगर।कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। इटहरीबाट सुरु भएको यो अभियान धरान र दमक हुँदै विराटनगर आइपुगेको हो।
विराटनगरको महेन्द्र चोकमा आयोजित कार्यक्रममा चलचित्रका प्रमुख कलाकार विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बादक बिराज गन्धर्वको उपस्थिति रहेको थियो। कार्यक्रममा गायक प्रशान्तले चलचित्रका गीत प्रस्तुत गर्दा सारंगी बादक बिराज गन्धर्वले सारंगीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए।
कार्यक्रममा कलाकारहरूले विराटनगरका दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका छन्। कलाकार टोलीले कार्यक्रमअघि सिटी सिनेमाजमा प्रमोशनल भिजिट पनि गरेको थियो। ‘पूर्ण बहादुरको सारंगी’ को प्रचारप्रसारका लागि मन्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोली देशभर घुमिरहेको छ। कार्यक्रम व्यवस्थापनमा आकाश रावलको ‘हुस क्रियशन’ टिम, इटहरीमा सुवास संकल्प श्रेष्ठ र सरोज श्रेष्ठ, धरानमा सुमित कार्की, र विराटनगरमा विकल श्रेष्ठले सहयोगी भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए।