धरान, १ कात्तिक। मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रामा बुधबार १२ जनाको उद्धार गरिएको छ।
“यो पटकको चाडपर्वमा कसैले सडकपेटीमा बस्न नपरोस्” भन्ने नारासहित सुरु भएको यो यात्रा ३२ दिनसम्म चल्नेछ। उद्धार टोलीले सुनसरीका दुहबी, इटहरी र धरानका विभिन्न स्थानहरूमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरूको उद्धारमा सक्रियता देखाएको छ।
बुधबार दुहबीबाट १ जना, इटहरीका विभिन्न वडाबाट ७ जना, र धरानबाट ४ जनाको उद्धार भएको हो। यात्रा सुरु भएको पहिलो दिन झापाबाट १० जना र दोस्रो दिन ६ जना सडकआश्रितको उद्धार गरिएको थियो। उद्धार गरिएका व्यक्तिहरूलाई मानवसेवा आश्रमको विराटनगर सेवाकेन्द्रमा संरक्षणका लागि पठाइएको छ।
यस उद्धार यात्रामा वरिष्ठ गायिका आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यूको नेतृत्वमा ४७ जना यात्री सहभागी छन्।
मानवसेवा आश्रमले विगत १२ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार र पारिवारिक पुनर्मिलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यो यात्राले ८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको संकल्पलाई सघाउने विश्वास गरिएको छ।