हिमा गाउँपालिकाले बाहिरबाट आउने रहेक व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । कोभिड –१९ को सङ्क्रमणको जोखिमबाट बच्न पालिकाले अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो । हालसम्म २५ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार राहदेव मावि माफ्लास्थित क्वारेन्टाइनमा १९ र भानु मावि पाथरखोलास्थित क्वारेन्टाइनमा छ जनालाई १४ दिनसम्मका लागि राखिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा राखिएकामध्ये ७५ प्रतिशत भारतबाट आएका तथा २५ प्रतिशत अन्य देश एवं काठमाडौँ र नेपालगञ्जबाट आएका छन् । भारतबाट जुम्ला आउनेको दर उच्च भएपछि सतर्कता अपनाउँदै गाउँपालिकामा भित्रिने हरेक व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको हो । बाहिरबाट आउने हरेक दाजुभाइ दिदीबहिनीले अनिवार्य स्वास्थ्य जाँच गरेर जिम्मेवार नागरिक दायित्व पूरा गर्न प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आग्रह गर्नुभयो ।