विराटनगर/ आगामी भदौ १४ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘वर वधु’ को प्रचार प्रसारका लागि कलाकारसहितको टोली विराटनगर आइपुगेको छ। विराटनगरको सिटी सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्स र अन्य कलाकारहरूले फिल्मबारे जानकारी गराउँदै दर्शकलाई हलसम्म ल्याउनको लागि आग्रह गरेका छन्।
निर्देशक मिलन चाम्सले ‘वर वधु’ लाई एक लभ स्टोरी र कमेडी ड्रामा के रूपमा प्रस्तुत गर्दै फिल्मको कथा रोचक र नयाँ भएको बताएका छन्। चाम्सले फिल्म नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्। यस चलचित्रले नेपालका साथै युरोपका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको बताउँदै, नेपाली समाजलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्य रहेको जानकारी दिएका छन्।
फिल्मका मुख्य कलाकारहरू किरण केसी, आचल शर्मा, र नव नायक विवेक कर्माचार्यले पनि आफ्नो अनुभव साझा गरे। किरण केसीले आफ्नो ४० वर्ष लामो करियरमा ‘वर वधु’ लाई एक महत्वपूर्ण मोडको रूपमा हेरेको बताए। अभिनेत्री आचल शर्माले विराटनगरले सधैं माया गरेको र यस चलचित्रमार्फत थप माया र साथको अपेक्षा गरेको उल्लेख गरिन्। नव नायक विवेक कर्माचार्यले आफ्नो पहिलो चलचित्रमा धेरै मेहनत गरेको र दर्शकलाई हलमा आएर फिल्म हेरिदिन आग्रह गरे।
चलचित्रको छायांकन सुदिप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठ, ट्रेलर साहिल खान, एक्सन हिमाल केसी, लेखन प्रदीप भारद्वाज, कोरियोग्राफी रविन्द्र न्यौपाने र अनिस स्याङ्देन, कला निर्देशन सन्तोष लामा, र संगीत अर्जुन पोखरेलले गरेका छन्।
फिल्ममा आचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, र सीता न्यौपानेले मुख्य भूमिकामा अभिनय गरेका छन्।
निर्देशक चाम्सले ‘वर वधु’ लाई नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने मात्र होइन, नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याउने लक्ष्य रहेको बताए।