जो नेपालमा छन्, उनीहरूको जीवनमा निराशा बाहेक केही देखिएको छैन। उनीहरू यो भ्रष्ट सिस्टमबाट वाक्क भइसकेका छन्। जहाँ पनि सिफारिसमात्रै छ। अब यो देशमा गरिबको दिन कहिले आउँछ? कहिले गरिबको सन्तानले उचित अवसर पाउँछन्? सबै गरिबका सन्तानले अवसर नपाएको भने होइन, केही व्यक्तिहरूले अवसर पाएका छन्, तर त्यो पर्याप्त छैन।
जन्मभूमिको माटो सबैलाई प्यारो लाग्छ। यही माटोमा हरेक दुःख-कष्ट सहेर जीवनका पलहरू बिताइरहेका छौँ। हाम्रो देश अझै पनि गरिबीको रेखामुनि नै छ। दिनभरि काम नगरेर रातमा हातमुख जोड्न कठिनाई हुन्छ। यो केवल मेरो मात्र होइन, अधिकांश नेपालीको पीडा र वेदना हो।
मुट्ठीभर व्यक्तिहरूले मात्र देशमा हक जमाएर बसेका छन्। सबै शक्ति र शासन उनीहरूको अधीनमा छ। हामी भने निरिह बनेर बस्न विवश छौँ। आखिर कहिलेसम्म हामी निरिह बनेर बस्नुपर्ने हो? के यो देशमा गरिबको आवाज बोलिदिने कोही छैन? देशका हरेक भागमा, हरेक कुनामा भ्रष्टाचार छ। हरेक स्थानमा शक्तिशाली व्यक्तिहरूको हालीमुहाली छ। उनीहरूले गरेका हरेक निर्णय हामीले स्वीकार्नैपर्ने बाध्यता छ। हामीले केही बोल्न खोज्यौं भने ज्यानसम्म गुमाउनुपर्ने खतरा छ। देशमा गुण्डाराज चलेको छ। गरिब, दुःखी, बेसहारा जनताको आवाज बोलिदिने कोही छैन। जसलाई विश्वास गरिन्छ, उसैले धोका दिन्छ। जसलाई सबैथोक ठानिन्छ, उसैले निर्वाचनको बेला हाम्रो टाउकोको गोटा गन्दैमा सन्तुष्ट हुन्छ। तिनका लागि हामी कीरा-माकुरा जत्तिको पनि होइनौं।
केही उदाहरणहरू यहाँ प्रस्तुत गर्न चाहन्छु। गरिब परिवारका युवा-युवतीहरू, जो दिनरात परिश्रम गरेर केही मुकाम हासिल गर्न चाहन्छन्, जसले आफ्नो पहिचान आफ्नै मेहनतले बनाउन चाहन्छन्, उनीहरूको देशमा कुनै मूल्य छैन। उनीहरूको कुनै मूल्य छैन ती मुट्ठीभर व्यक्तिहरूका सामुन्ने।
आज गरिबका छोराछोरीहरू, जसले पढाई सकेका छन्, कसैले डिग्री गरेका छन्, कसैले बाचलर गरेका छन्, तर अधिकांशले रोजगारीको अवसर पाएका छैनन्। उनीहरू राज्यले दिएको सुविधा बाट पनि वञ्चित रहेका धेरै उदाहरण मैले देखेको छु। आज सरकारी जागिर कसले पाउँछन्? जसको हातमा शक्ति छ, जसको हातमा पैसा छ। जसका कुनै व्यक्तिहरू पावरमा छन्, तिनै व्यक्तिहरूको वरिपरि कुर्सीहरू घुमिरहन्छन्।
एउटा गरिबका छोराछोरीहरूले निराशा बाहेक केही पाएका छैनन् हाम्रो देशमा। यसको जिम्मेवार को हो? एक पटक यस विषयमा गम्भीर भएर सोच्ने बेला आएको छ। एउटा सामान्य जागिर खान पनि लाखौं रुपैंयाँ घूस खुवाउनु पर्ने बाध्यता छ हाम्रो समाजमा। अनि कसरी ती गरिबका छोराछोरीहरूले जागिर पाउँछन् त? एउटा जागिर खान नेता-मन्त्रीको सिफारिस चाहिन्छ। एउटा गरिबको सिधा सम्पर्क कहिले हुन्छ त नेता-मन्त्रीसँग? हो, अहिले अधिकांश युवाहरू डिप्रेशनको सिकार भइरहेका छन् रोजगार नपाएर, उचित अवसर नपाएर। लाखौं शिक्षित युवाहरू विदेश पलायन भएका छन्।
जो नेपालमा छन्, उनीहरूको जीवनमा निराशा बाहेक केही देखिएको छैन। उनीहरू यो भ्रष्ट सिस्टमबाट वाक्क भइसकेका छन्। जहाँ पनि सिफारिसमात्रै छ। अब यो देशमा गरिबको दिन कहिले आउँछ? कहिले गरिबको सन्तानले उचित अवसर पाउँछन्? सबै गरिबका सन्तानले अवसर नपाएको भने होइन, केही व्यक्तिहरूले अवसर पाएका छन्, तर त्यो पर्याप्त छैन।
अब न्यायको कुरा गर्दा, यसमा पनि व्यक्तिवाद नै हाबी भएको छ, सिन्डिकेट नै चलेको छ। गरिबले न्याय पाउन मुस्किल छ हाम्रो नेपालमा। प्रहरी चौकी, अदालत, सबै ठाउँमा सोर्स नै चल्छ। पैसाकै बोलि सबैले सुन्छन्, तर गरिबको चित्कार कसैले सुन्दैन। गरिबको दर्द, गरिबको पीडासँग कसैको सहानुभूति छैन। किन हुनु? गरिबहरू त उनीहरूको लागि को नै हुन् र? न्याय त बिक्छ हाम्रो देशमा। बेचारा ती दिनरात मिहनेत गरेर दुई छाक टार्ने गरिबले कसरी किन्न सक्छन् न्याय?
आज गरिबकी छोरी बलात्कृत हुँदा पनि चुपचाप लागेर बस्नु बाहेक भित्रभित्रै आँशु पिउनु बाहेक केही विकल्प छैन ती अभागी चेलीहरूको बुवा-आमासँग। किनकि उनीहरूको बुवा-आमासँग न्याय किन्ने औकात छैन। एकछिन सोच्नुस् त, कति पीडा हुन्छ ती बुवालाई, जसले पटक-पटक न्यायालयमा गएर “मेरो छोरी बलात्कृत भइन्, न्याय चाहियो” भन्दा पनि न्याय नपाउँदा? कति पीडा हुँदो होला निर्मला पन्तकी आमालाई, जसले छोरी गुमाउँदा पनि उनको हत्यारालाई सजाय दिलाउन नसकेर? कति तडपिए होलान् ती निर्मलाहरूको आत्मा?