बिराटनगर । नेपाल, एक बहुसांस्कृतिक, बहुभाषिक र धार्मिक विविधताले भरिपूणर् देश हो, धर्मले एउटा समय सम्म समाजलाई यहासम्म ल्याउन महत्वपूणर् भूमिका खेलेको हो । धर्म ज्ञान हो, असल व्यवहार हो, असल आचरण हो, सहयोगी र परोपकारी भावना हो । नेपालमा सवै धर्मको उतिकै सम्मान छ । तर यस्ता धार्मिक विविधताको बीचमा धर्मजीविहरुले धर्मको नाममा र आडमा समाजलाई विखण्डित गर्ने प्रवृत्तिहरू देखा पर्दै गएका छन्, जसले देशको विकास, समृद्धी र स्थिरतालाई चुनौती दिइरहेका छन् । हिन्दु धर्म होस वा अन्य धर्म सवै दर्शनको महान उदेश्य असल मानव र सभ्य समाज हो तर अहिले धर्मको खोल ओढेर घिउ खाने चलनले समाजमा धर्म स्वयलाई बिकृत बनाउदै लगिएको छ । समाजमा धर्म र यसले उठाएका समस्याको समाधानका लागि, हामीलाई केही महत्त्वपूणर् कदमहरू उठाउन आवश्यक छ । यस लेखमा, म समाज सुधार र राष्ट्र निर्माणका लागि ७ प्रमुख बुँदाहरू प्रस्तुत गर्दछु, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन, देश समृद्ध बनाउन, साजरुक र सचेत समाज निर्माणमा ठोस पहलकदमी हुनेछ ।
१. धर्मको आडमा पुराना र डेटस्पायस कथाहरु भनेर आदर्श राज्य बन्न सक्दैन ।
हाम्रो समाजमा हजारौं वर्ष पुराना धार्मिक कथाहरूलाई आदर्शको रूपमा प्रस्तुत गरिन्छ । आकाश पालातका कथाहरु सुनाएर अनप्रोडक्टिभ अवस्थाको सिर्जना गरिन्छ । यी कथाहरूले इतिहास र संस्कृतिलाई जीवित राख्न महत्त्वपूणर् भूमिका खेल्छन् । तर, आधुनिक समाजको आवश्यकतालाई पुरा गर्न सक्दैनन् र राज्य समृद्ध बन्न सक्दैन । समयको परिवर्तनसँगै समाजको आवश्यकता पनि बदलिएको छ । युवा मनले विज्ञान र ज्ञानमा आधारित भई आफ्नो व्यवहारको विकास गर्न चाहन्छ ।
पुराना कथाहरूमा निहित मान्यता र आदर्शहरूले वर्तमान युगमा आवश्यक सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनलाई समर्थन गर्न सक्दैनन । आजको एआईको युगमा विज्ञान र प्रविधिको विकास र सो को महत्व बढ्दै गएको छ, र यसले नै समाजलाई समृद्धि तर्फ अघि बढाउन सक्छ । त्यसैले, हामीले तर्कसंगत दृष्टिकोणलाई अपनाउनु पर्छ र आधुनिक समाज निर्माणको लागि नयाँ मार्गहरू पहिल्याउन आवश्यक छ ।
२. धर्मको अपव्याख्याका नाममा समाज विखण्डन तर्फ उद्यत भएकोे छ ।
धार्मिक ग्रन्थहरूलाई आफ्नै अनुकूल व्याख्या गरेर समाजलाई भाड्ने प्रवृत्ति देखिँदै छ । यस्ता कथावाचकहरू, जसले धार्मिक ग्रन्थहरूको आफ्नो व्यक्तिगत स्वार्थ अनुसार व्याख्या गर्छन्, समाजमा विभाजनको बीज रोप्दैछन । धार्मिक सद्भावनाको अभावमा समाजमा अन्योलता र अस्थिरता पैदा हुन्छ ।
धार्मिक ग्रन्थहरूको गलत व्याख्याले मानिसहरूलाई भ्रामक मार्गमा लैजाने जोखिम बढ्छ । त्यसैले, यस्ता चटके वाचक वाचिकाहरूमाथि राज्यको सकारात्मक नियन्त्रण आवश्यक छ । धार्मिक ग्रन्थहरूको व्याख्या गर्दा सामाजिक एकता र सद्भावनालाई प्राथमिकता दिनुपर्छ । धर्मलाई पेशा व्यवसाय बनाएर जीवन जीउनका लागि पेशा बनाउदा धर्मले दिन खोजेको सन्देश र राखेको उदेश्यहरु नै आज आएर गलत सावित बनाइदै छ ।
३. अन्धविश्वास र रूढिवादी विचारले सामाजिक रुपान्त्तरण सम्भव छैन ।
धर्म यथास्तिीमा आधारित हुन्छ । समाजमा अन्धविश्वास र रूढिवादी विचारको प्रभावले समाजलाई पछि धकेल्छ । विज्ञान र तर्कको अभावमा, मानिसहरू अन्धविश्वासको जालमा फस्छन्, जसले समाजको विकासमा बाधा पुर्याउँछ । रूढिवादी विचारधाराले समाजलाई प्रगतिको बाटोमा अघि बढ्न रोक्छ । नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ प्रविधिहरूको स्वीकार्यताले मात्र समाजलाई सही दिशा दिन सक्छ । त्यसैले, हामीले विज्ञान र तर्कलाई प्राथमिकता दिनुपर्छ । जसले मानिसहरुको मानवीय विकासलाई नयाँ ऊँचाईमा पुर्याउन सकिन्छ ।
४. तथ्य, ज्ञान र विज्ञानले समाज र देश निर्माण गर्नु पर्छ ।
समाज र देशको विकास गर्नका लागि तथ्य, ज्ञान, र विज्ञानलाई आधार मान्नु पर्छ । शिक्षा, अनुसन्धान, र विकासका लागि नीति बनाउनु पर्छ, जसले समाजलाई आधुनिकता तर्फ अघि बढाउन सक्छ । ज्ञानको प्रसार र प्रवर्धनले मानिसहरूलाई अन्धविश्वास र रूढिवादी विचारधाराबाट मुक्त गर्न मद्दत पुर्याउँछ । विज्ञान र प्रविधिको प्रयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ, जसले देशलाई प्रगतिको मार्गमा अघि बढाउँछ ।
५. कथावाचकका लागि लाइसेन्स प्रणालीको व्यवस्था गर्नु पर्छ ।
जसरी वकिल, डाक्टर, इन्जिनियर, शिक्षकहरूलाई काम गर्न लाइसेन्स आवश्यक पर्छ, त्यस्तै धार्मिक कथा वाचक वाचिकालाई पनि राज्यले उचित कानून तर्जुमा गरी लाइसेन्सको व्यवस्था गर्नु पर्छ । यो कदमले धार्मिक कथावाचनको गुणस्तरमा सुधार ल्याउन मद्दत पुर्याउँछ भने धार्मिक गतिविधिलाई अनुसाशन भित्र राख्न पनि सकिन्छ । सरकारले उपयुक्त नीति मार्फत लाइसेन्स दिने व्यवस्था गर्नु पर्छ । यसले कथावाचकहरूलाई जिम्मेदारी र जवाफदेहिता बढाउँछ र समाजमा गलत प्रवृत्तिलाई रोक्न मद्दत पुग्छ ।
६. धार्मिक कार्यबाट आर्जित सम्पतीलाई करको दायरामा ल्याउनु पर्दछ ।
धर्मको नाममा कथा वाचन गरेर पैसा आर्जन गर्नेहरूलाई पनि करको दायरामा ल्याउन आवश्यक छ । यसले आर्थिक पारदर्शिता मात्र होइन, समाजमा वित्तीय अनुशासन पनि ल्याउँछ । धर्मको नाममा हुने आर्थिक गतिविधिहरूलाई कानूनी रूपमा दर्ता गर्नुपर्छ । कर्मकाण्ड पुराण कथा वाचन जस्ता धार्मिक कार्यबाट आर्जित सम्पतीको सिमा कायम गरी करको व्यवस्था गर्नु पर्छ । यसले सरकारलाई आर्थिक अनुशासन कायम गर्न मद्दत गर्छ र समाजमा आर्थिक समानताको स्थापनामा योगदान पुर्याउँछ ।
७. समाजको गति र शान्त्ति खलवलाउनेलाई कानूनी दायरामा ल्याउनु पर्छ ।
कथाका नाममा समाजलाई विखण्डित गर्ने र शान्ति खलबल पार्नेहरूलाई कानूनी दायरामा ल्याउनु पछ । यदि यस्ता प्रवृत्तिलाई रोकिन सकिएन भने, नेपाली समाज स्थिरता र विकासको मार्गमा पछाडि पर्न सक्छ । कानूनी प्रक्रिया मार्फत समाजमा अस्थिरता पैदा गर्ने तत्वहरूको नियन्त्रण गर्नु आवश्यक छ । यसले समाजमा शान्ति, सद्भावना र स्थायित्व कायम राख्न मद्दत पुर्याउँछ । धार्मिक कार्यको नाममा हजारौ व्यक्तिलाई नचाहिदा र अवास्तविक गफ दिएर उदण्ड मच्चाउने व्यक्ति उपर राज्यले निगरानी गर्नु पर्छ । धर्मको बहानामा ठूलो स्वरमा हल्ला गर्ने, अशान्त्ति मच्चाउने कार्यको अन्त्य गर्न जरुरी छ ।
निष्कर्ष धर्म, परम्परा र संस्कारको सम्मान नै हाम्रो मुलभूत लक्ष्य हो । कुधर्म कुसंस्कार कुकार्यको विरोध हो । आधुनिक समाज निर्माणको दिशा पक्रिन धर्मको गीत गाएर पुगिदैन ज्ञान र विज्ञानको बाटो अनुशरण गर्नै पर्दछ । यसका लागि सरकार, नागरिक समाज र सवै वर्ग समुदाय, जातजाति धर्मावलम्बी सबैले हातमा हात राखेर आधुनिकता र विज्ञान सम्मत विचार निर्माण गरी मिलेर काम गर्नुपर्दछ । अन्धविश्वास र रूढिवादको स्थान ज्ञान र विज्ञानले लिनुपर्छ, जसले देशलाई प्रगतिको मार्गमा अगाडि बढाउन सक्छ । जय राष्ट्र । जय मानवता । अधिवक्ता सुजन दाहाल