कोशी प्रदेश प्रहरी प्रमुख: खेल जित्न मात्र नभई हार्नको पनि अभ्यास गर्नुपर्छ
विराटनगरमा शनिबार सम्पन्न नवौं इण्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्पियन प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक जितेर भारतलाई पछि पारेको छ । दिल्ली पब्लिक स्कुलमा भएको सो प्रतियोगितामा ५ देखि २१ वर्ष उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा नेपालका ६० जना र भारतका १८ जना खेलाडीहरुले भाग लिएका थिए । भारतबाट खेलाडीहरुसहित ३५ जनाको टोली नेपाल भ्रमणमा आएको थियो । नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण, ५ रजत र ४ कांस्य पदक जितेका छन् । भारतले भने ४ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेर दोस्रो स्थान हासिल गरेको छ ।
मोरङ जिल्ला स्केटिङ्ग एशोसिएसनका अध्यक्ष सुरज कामतको अनुसार प्रतियोगिताका उत्कृष्ट ३ खेलाडीहरुलाई आगामी सेप्टेम्बर २०-२२ मा थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ । प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् ।
कार्यक्रममा सम्बोधन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले खेल जित्न मात्र नभई हार्नको पनि अभ्यास गर्नुपर्ने बताउनुभयो । उहाँले खेलमा सधैं जित्नुपर्छ भन्ने मानसिकताले बालबालिकाहरुमा दबाब हुने भन्दै हार्नको पनि अभ्यास गराउनुपर्ने बताउनुभयो ।
नवौं इण्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्पियन प्रतियोगिता नेपालको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसले नेपाली खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न प्रोत्साहन गर्छ भन्ने विश्वास लिएका छन् ।