सरकारले दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुमा सशस्त्र प्रहरीको बोडर आउट पोष्ट (विओपी) स्थापना गर्ने तयारी गरेपछि सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी स्थलगत निरीक्षणमा निस्किएको हो । विओपी स्थापना हुने क्षेत्र र सीमा क्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबारे अवलोकन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति (डिएसपी) डम्बरबहादुर विष्टको नेतृत्वमा १५ जनाको टोली उत्तरी क्षेत्र छाङ्गरुको अवलोकन निरीक्षण भ्रमणमा निस्किएको हो । भारतले जारी गरेको नक्सामा नेपालको दार्चुलाको कालापानी लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेपछि दार्चुलाको व्याँस क्षेत्र चर्चामा छ । भारतले यो क्षेत्रमा नेपालको थप भूमि अतिक्रमण गर्न थालेपछि सरकारले गत मङ्सिर २३ गते व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको विओपी राख्ने निर्णय गरेको थियो । तस्वीर ः नरेन्द्रसिह कार्की