हिपमत डटकम

शुक्रबार, फाल्गुण १९, २०७९ || 6677  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थमन्त्रालयका सचिव गत वर्ष फागुनमै हस्ताक्षर गरेका थिए । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै मेयर कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षणसमेत गरका थिए । जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड अनुदान सहयोग उपलब्ध गराउनेछ ।

उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनर्निर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । सो अवसरमा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराए । उनले जाइका निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने दाबी गरे । भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा समेत छलफल भएको महानगरका अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताए ।

यसैबीच, मेयर कोइरालाले शुक्रबार नै यूएसआईडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसित भेटघाट गरेका छन् । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाई, पार्किङ, फुटपाथ नियन्त्रणलगायत सामान्य कुराबाटै सुधारको सुरुवात गरेको बताएका थिए । मेयर कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकारहरु प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको सुनाए । कोइरालाले समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि मेयर कोइरालाले सेपिदाहसित खुलेर कुरा गरेका थिए । उनले विराटनगर भ्रमणको निम्तोसमेत दिए । सो अवसरमा सेपिदाहले आफू विराटनगर आउन इच्छुक रहेको बताएकी थिइन् । छिट्टै विराटनगर आएर स्थानीय वस्तुस्थिति बुझ्ने प्रतिबद्धता जनाइन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!