महोत्तरीका गौशाला नगरपालिका–६ फुलकाहामा निर्माणाधीन मुसहर बस्तीका लागि जग्गा अपुग भएपछि स्थानीय एकै परिवारका चार दाजुभाइले जग्गादान गरेका छन । प्रदेशसभा सदस्य भरतप्रसाद साहको संसदीय बजेटमार्फत फुलकाहामा निर्माण हुन लागेको मुसहर बस्तीका लागि सहयोगस्वरुप स्थानीयवासी लट्टु यादव, रामबाबु यादव, गगनदेव यादव र मदन यादवले सामूहिकरुपमा एक कट्ठा आठ धुर जग्गा दान गरेका हुन् । चार कट्ठा क्षेत्रफलमा यसै आर्थिक वर्षभित्र निर्माण हुने सो बस्तीका लागि जग्गा अपुग भएपछि प्रदेशसभा सदस्य साहको आग्रहले यादव दाजुभाइले जग्गादान गरेको विद्यार्थी नेता सूर्यनारायण साहले बताउनुभयो । सुकुम्वासीका रुपमा बसोबास गर्दै आएका ३७ घरपरिवारका लागि फुलकाहामा एकीकृत मुसहर बस्ती निर्माण हुने भएको छ ।