नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धनमा नेताबाट समान प्रकारको प्रतिक्रिया आइरहेको अवस्थामा अन्तिम अवस्थामा गठबन्धन टुटेको अवस्थाबारे पार्टीमा विश्लेषण, छलफल एवम् बहस भइरहेको बताउनुभयो।
प्रवक्ता डा. महतले भन्नुभयो, “नेताबाट समान प्रकारको प्रतिक्रिया आइरहेको अवस्थामा नेतृत्वमा गठबन्धन अगाडि बढ्ने आङ्कलन र सो अनुरुपको प्रक्रिया अगाडि बढेको थियो।”
यसअघि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनाउने भन्ने दोस्रो विकल्पबारे छलफल गर्ने र निर्णयमा पुग्ने समय प्राप्त नभएको गुनासो उहाँले राख्नुभयो। गएको निर्वाचनमा कांग्रेसले अपेक्षाकृत नभए पनि सन्तोषजनक परिणाम प्राप्त गरेको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “कांग्रेस विपक्षमा रहन्छ। सशक्त विपक्षको भूमिका निर्वाह गर्छ। देशको सुरक्षा, राष्ट्रिय हित, जनसरोकार, जनताको आवश्यकता, राष्ट्रिय स्वार्थको विषय, विकास र रोजगारीको विषय प्रमुखताका साथ सशक्त ढङ्गबाट उठाउँछौं। आउने दिनमा कांग्रेसको सङ्गठन निर्माण, एकता र व्यक्ति केन्द्रित हुन्छौं।”
उहाँले समसामयिक विषयमा पुस २८ गते केन्द्रीय कार्य समितिको बैठकमा बृहत् छलफल हुने जानकारी दिनुभयो। यसअघि पुस २२ गते बस्ने भनिएको तर, पुस २६ गने प्रधानमन्त्रीले विश्वासको मत लिने र पुस २५ गते संसद् बैठक चल्ने हुँदा पुस २८ गते दिउँसो १ बजेको बैठकमा थप छलफल हुने उहाँको भनाइ छ।